बालेनविरुद्ध संसदमा बबाल

काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहको संसदमा चर्को आलोचना भएको छ । 

फुटपाथ व्यापारी र कवाडी व्यवसायीमाथि अत्याचार गरेको भन्दै सांसदहरुले बालेन्द्रको विरोध गरेका हुन् । आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन सचेत गराए । 

मेयर बालेन्द्रको दम्भ बढेको र यस्तै गतिविधि कायम रहे काठमाडौं संघर्षको मैदानमा परिणत हुने सिंहले चेतावनीसमेत दिएका छन् । 

‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, टाउको फुटाउने, कहिले कवाडीहरुलाई हटाउने’, उनले भने । 

मधेसका मान्छेकै कारणले काठमाडौंले फलफूल र तरकारी खान पाइरहेको भएपनि बालेन्द्रले उनीहरुलाई नै अपमान गरेको सिंहको आरोप छ । करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको जनाउँदै उनले सरकारकोसमेत ध्यानाकर्षण गराएका छन् । 

’मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । टाउको फुटिरहेको छ । उनीहरु कर तिरिरहेको छ । प्यानमा दर्ता छ । गैरकानूनी हो भने किन प्यान लिइरहेको छ । सरकार एकातिर कर पनि लिने अर्कोतिर अपमान गर्ने ?’, सांसद सिंहले संसदमा भने, ’संघीय सरकारले यसमा हस्तक्षेप गरोस् । न कि संघीय सरकार, संघको गृहमन्त्री प्रहरी पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । यो नेपाल हरेक नेपालीको हो । कुनै मेयर र प्रधानमन्त्रीको मात्रै होइन । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिब पनि बस्न पाउँछ ।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि फुटपाथ व्यवसायीमाथि भएको ज्यादतीको चर्को विरोध गरे । गीतमार्फत मेयर बालेन्द्रको विरोध गरेका सांसद हरी ढकालले अस्ति साँझ सुन्धारमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग पनि गरेका छन् ।

‘प्रकाश सपुतको गीत यो देश मेरो पनि हैन र भन्ने गीत सम्झन चाहन्छु । स्थानीय निकायको चुनावताका गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गुञ्जायमान भएको पनि सम्झन चाहन्छु’, उनले भने, ’अस्ति राति काठमाडौँ महानगरपालिकाले फूटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गर्न चाहन्छौँ । सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

अस्ति राति काठमाडौं मलअगाडि फुटपाथका व्यापारीमाथि दमन गर्ने क्रममा महानगर प्रहरीबाट एकजना पत्रकारसमेत कुटिएका थिए । उक्त घटनाको आमरुपमा चर्को निन्दा भइरहँदा सांसदहरुले पनि बैठकमा कुरा उठाएका हुन् ।

टिप्पणीहरू