राष्ट्रियसभाका २० सांसद आजबाट बिदा हुँदै, १९ जनाको शपथ भोलि
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभाका २० सांसदको कार्यकाल आजबाट सकिँदैछ ।
स्थायी सदन राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्न पहिलो पटक भएको गोला प्रथाबाट ६ वर्षका लागि छानिएका सांसदहरू आज बिदाइ हुन लागेका हुन् । जसमा नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जसपाका एक जना छन् । त्यस्तै, स्वतन्त्र एक जना र एकजना मनोनित सांसदको पनि आज रातिदेखि कार्यकाल सकिँदैछ ।
राष्ट्रियसभाका एक तिहाई सदस्यको प्रत्येक दुई वर्षमा कार्यकाल समाप्त हुने र निर्वाचनबाट पदपूर्ति गरिने व्यवस्था बमोजिम नयाँ सदस्यहरु निर्वाचित भएर आइसकेका छन् । गत माघ ११ गते भएको निर्वाचनमा १९ सांसद निर्वाचित भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक जनाको सिट भने अझै खाली छ ।
को-को बाहिरिदैछन् ?
एमालेबाट चुनाव जितेर राष्ट्रियसभा अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनासहित सो पार्टीका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई आजबाट बिदा हुँदैछन् ।
कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । कार्यकाल सकिनेमा माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा छन् ।
जसपाकी प्रमिला देवी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि आज घर जाँदैछिन् ।
यी हुन् नयाँ निर्वाचित ?
माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा १९ जना चुनिएर आइसकेका छन् । जसमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला विजयी भएका थिए ।
मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना चुनिएका छन् । त्यस्तै, बाग्मतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजालले चुनाव जितेका छन् ।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ निर्वाचित छन् । लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका थिए ।
कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित हुँदा सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द विजयी भएका छन् ।
नवनिर्वाचित सांसदहरुले भोलि पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।
टिप्पणीहरू