गठबन्धन फेरिएपछि ओलीको ठट्टा - देशको परिस्थिति आज अलि छिटो हिँड्न खोज्यो के !

सुन्नुहोस्

कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनाउन सफल हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति आज छिटोछिटो हिँड्न खोजेको टिप्पणी गर्नुभएको छ । 

पार्टी निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेपछि आफू कार्यक्रममा आउन ढिला भएको भन्दै ओलीले ठट्टासमेत गर्नुभयो । 

नयाँ गठबन्धन बनेपछि पार्टीको पहिलो कार्यक्रममा उहाँले भन्नुभयो, 'यहाँहरुलाई थाहा छ–देशको परिस्थिति आजको दिन चाहीँ अलि छिटोछिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो । म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापटि अलि अल्झायो, अल्मल्यायो ।'  

त्यसक्रममा अध्यक्ष ओलीले  पार्टीले मिसन–२०८४ नछोड्ने पनि बताउनुभएको छ । यथास्थितिवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै जाने तर देश यस्तै अवस्थामा रहिरहने स्थिति रोक्न मिसन- २०८४ अभियान सञ्चालन गर्नुपरेको उहाँको भनाई छ ।  'जेसुकै परिवर्तन भएपनि हामी मिसन २०८४ छोड्दैनौं । नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य हो । यो मिशन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ यो  । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो', ओलीले भन्नुभयो, ' त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ ।

मापन हुनेमात्रै निर्वाचन हो । कति भोट, कति सिट भन्ने कुराले कहाँनिर छ भन्ने देखाउँछ । र, त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षले त्यसले देशलाई लिएर जान सक्छ । जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो । राष्ट्रिय शक्ति, प्रगति चाहने शक्ति निर्णायक भयो भने । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ । देश त्यस्तै अवस्थामा रहन्छ ।' 

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको बताउनुभयो । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने उहाँको भनाई छ ।
 

टिप्पणीहरू