माधवलाई मनाउन कोटेश्वरमा आउजाउ तारन्तार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्तिदेखि राजनीतिक ‘कोल्टे फेरेपछि’ उत्पन्न पछिल्लो परिस्थितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ’तानातान’ मा पर्नुभएको छ ।
एकीकृत समाजवादीलाई समेटेर सरकारलाई थप बलियो बनाउने नयाँ गठबन्धनको रणनीति र प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न १० जना सांसद रहेको सो पार्टीलाई फकाउने काँग्रेसको भित्री चलखेलले माधव तानातानमा पर्नुभएको बताइन्छ । एमाले र माओवादीको नयाँ गठबन्धनमा सामेल भइनसक्नुभएका उहाँलाई आफूतिर ल्याउन अस्तिदेखि नेताहरुको कोटेश्वर दौड चलिरहेको छ ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज कोटेश्वर पुग्नुभएको छ । प्रधानमन्त्रीले गठबन्धनबाट काँग्रेसलाई आउट गरेपछि हिजो कार्यसम्पादन समितिको बैठक राखेर प्रतिपक्षमा बस्ने निर्णय गराउनुभएका देउवा आज बिहान माधव निवास पुग्नुभएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको भनिए पनि कुरा खुलेर आइसकेको छैन ।
हिजो साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले अध्यक्ष नेपालसँग दुई घण्टा लामो छलफल गरेका थिए । अस्ति प्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठ भेट्न जानुभएको थियो ।
हिजो प्रचण्ड र ओलीको टोली निस्केलगत्तै पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पनि एकाएक कोटेश्वरमा प्रकट भएको बताइन्छ । गठबन्धनमा ठाउँ नपाएको राप्रपासहितलाई समेटेर काँग्रेसले अर्को गठबन्धन बनाउने तयारी गरिरहेको चर्चाबीच बिरामी अवस्थामा रहनुभएका माधवको घरमा बढेको भेटघाट अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू