माधव नेपालको निर्णय कुरेर बसेका उपेन्द्र पनि सरकारमा सहभागी हुँदै
जनता समाजवादी पार्टीको बिहान ८ बजेदेखि बसेको बैठकले सरकारमा जाने निर्णय गर्दैछ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले वन र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित दुई जना मन्त्री पठाउने निर्णय गर्न लागेको बताइएको छ ।
पार्टीको तर्फबाट उपप्रधानसहित अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना पनि उत्तिकै छ । उपेन्द्र नगएको अवस्थामा प्रदिप यादवहरुले प्रतिनिधित्व गर्ने बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हिजो भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको जसपा नेकपा एकीकृत समाजवादीको निर्णय कुरेर बसेको थियो । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जसपाले उताको सरकार टिकाउने रणनीतिमा माधव नेपाल नेतृत्वको पार्टीको निर्णय कुरेर बसेको हो ।
"मधेश प्रदेश सभामा एकीकृत समाजवादीका सात सांसद छन् । पछिल्लो समीकरण परिवर्तनपछि चार सिट भए मधेशको सरकार टिकाउन उपेन्द्रलाई पर्याप्त हुने अंकगणित छ ।"
मधेश प्रदेश सभामा एकीकृत समाजवादीका सात सांसद छन् । पछिल्लो समीकरण परिवर्तनपछि चार सिट भए मधेशको सरकार टिकाउन उपेन्द्रलाई पर्याप्त हुने अंकगणित छ । संघीय सरकारमा माधव नेपालको पार्टी सरकारमा नगएको अवस्थामा उताको सरकार जसपाको हातबाट फुत्किने सम्भावना बढेकाले उपेन्द्र यादवले आज बिहान बैठक राखेका हुन् ।
उता नेपाली काँग्रेसले पनि विपक्षी पार्टीहरुको छुट्टै गठबन्धन बनाउने प्रयास गरेको छ । हिजो बेलुकी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नागरिक उन्मुक्ति, जनमत र लोसपाका नेताहरुसँग काँग्रेस नेताहरुको छलफल भएको थियो । भेटमा सभापति देउवाले संघको सरकारमा सहभागी नहुने तर प्रदेशका सरकार सकेसम्म टिकाउने पक्षमा आफू रहेको जानकारी गराउनुभएको बताइन्छ ।
यस्तो अवस्थामा जसपा अध्यक्ष उपेन्द्रले अरुभन्दा मधेश सरकारमा रहेको आफ्नो बर्चस्वलाई आगामी दिनमा पनि कायम राख्ने रणनीति स्वरुप आज सरकारमा सहभागी हुने निर्णय गराउन लागेका हुन् । त्यसका लागि माधव नेपालको सहयोग अपरिहार्य भएपछि आज सोही अनुकूलको निर्णय गर्न बैठक डाकिएको जसपाका एक जना पदाधिकारीले बताए ।
टिप्पणीहरू