दयावान बन्नुको अर्थ र महत्व
एउटा मानवले अर्को मानवप्रति देखाउने सद्भाव, अरुप्रति व्यक्त गर्ने शुभकामना, अरुमाथि प्रकट गरिने शुभभावना आदिलाई नै दया भनिन्छ ।
जहाँ दया हुन्छ त्यहाँ घृणा, इष्र्या, स्वार्थ, रिसराग र क्रोध रहन सक्दैन । दयावान व्यक्ति मानिसहरुप्रतिमात्र हैन सबै प्राणीहरुप्रति नै समभाव प्रकट गर्दछ । उसले आफ्नो र अर्को, सम्बन्धित र असम्बन्धित केहीपनि भन्दैन । यो ऊ भित्र जागृत भएको दिउँ भन्ने भावना हो । उसको मनभित्रको संकल्पसागरबाट उर्लेर आउने दातापनको लहर हो । जीवनरुपी यात्रामा यो सरिता जस्तै बगिरहन्छ विनाप्रभाव ।
दया सबै मानिसमा समानरुपले पैदा हुँदैन । यो मनभित्रको साधारण संकल्पको उपजपनि हैन, जुन सबैको मनभित्र प्रकट भएर आउन सकोस् । यसको लागि ऊभित्र शक्तिशाली वृत्तिको विकास भएको हुनु पर्दछ । निस्वार्थ भावनाले नै दयाभाव जागृत भएर आउँछ । दयाभाव जागृत गर्न हामीभित्र गढेर रहेको स्वार्थको त्याग र बलिदानीको पनि जरुरी पर्दछ ।
पुराना संस्कार, पुराना स्मृति र पुराना कमजोरीहरु त्याग्न सकेमात्र दयाभाव जाग्न सक्दछ । दयाभावबाट नै संसारमा शान्ति स्थापना गर्न सकिन्छ । साथै समृद्धि प्राप्त गर्दै सुख र सन्तुष्टि प्राप्त गर्न सकिन्छ । सुखमय संसार स्थापनाको लागि सबै मानिसले आफूभित्र दयाभावको गुण इमर्ज गर्नु पर्दछ । अहिले हाम्रो मनमा जम्मा हुँदै आएको कुसंस्कारको जालोले यो गुणलाई ढाकेको छ । त्यसैले हामीभित्र यो हामीले चाहेजति प्रकट हुन सकिरहेको छैन । जब यो हाम्रो मनमा प्रकट हुन सक्दैन, व्यवहारमा त आउनै सक्दैन ।
दयाको व्यवहारिक पक्ष अत्यन्त सुन्दर हुन्छ । जबसम्म व्यवाहारमा आउन सक्दैन, यसको प्रभाव देखिने कुरा त हुनै सक्दैन । दया मानिसलाई परिवर्तन गर्न सकिने यो एउटा अचुक अस्त्र पनि हो । जब मानिस परिवर्तन हुन्छन् संसार स्वतः परिवर्तन हुन्छ । समृद्धि र सुख पनि आउँछ । परिवर्तित त्यो संसार हामीले खोजेको स्वर्ग हो । यो परिवर्तनपछि आउने समय या युग नै सत्य युग हो । जसलाई हामी स्वर्णीम युग पनि भन्ने गर्दर्छौं । यो विश्वमा मानिसहरु एकथरी ज्ञानी छन् जो धेरै कुरा जान्दछन् ।
ज्ञानकै कारण उसमा प्रेम र दया जागृतभएको हुन्छ । अर्काथरी निकै कम जान्ने अन्जान छन् । तिनीहरु संसार जान्ने त के आफैंलाई जान्दैनन् । आफ्नो शक्ति र क्षमताको पहिचान गर्न सक्दैनन् । अज्ञानता र अन्धविश्वासको कुहिरोभित्र मार्ग पहिलाउन नसकेर अन्धकारमा सुतिरहेका छन् । जान्नेहरुले अन्जानहरुमाथि हेला गर्ने नभई दया गर्नु जरुरी छ ।
जागेकाहरुले जाग्न नसकेकाहरुलाई जगाउनु, सत्मार्ग पैल्याउन नसकेकालाई मार्ग देखाउनु नै दयावान बन्नु हो । संस्कारहीन भएकालाई पनि घृणा गर्नुको सट्टा संस्कार प्रदान गर्नु पर्दछ । कुसंस्कारको जालोमा फसेकालाई त्यहाँबाट निकाल्नु छ । यतिखेर धेरै मानिसहरु मानसिक विकारको दलदलमा गढेका छन् । उत्रन खोज्नेहरु पनि उत्रन सकेका छैनन् । विसंगतिमा अलमलिएकाहरु अलमलिइरहेका छन् ।
दुव्र्यसनमा फसेकाहरु फसिरहेकै छन् । अल्पकालको सुखको लागि, क्षणिक इच्छा पूर्तिका लागि मानिसहरु के गर्ने के नगर्ने ? भन्ने कुराको पनि निर्णय गर्न सकिरहेका छैनन् । इच्छा मात्रम् अविद्या भनेजस्तो भएको छ । त्यसले गर्दा गलत कार्यमा फसिरहेका छन् । चाहना र इच्छाले अन्धो बनाएको छ । विकारमा फसेका छन् । जसले गर्दा आफैं दुःखी छन्, घर परिवारलाई दुःखी तुल्याएका छन्, समाजलाई नै दुःखित र आतंकित बनाइरहेका छन् । अज्ञानताले मानिसलाई कुसंस्कारतर्फ लैजान्छ, अन्धो बनाउँछ र नराम्रा काम गर्न प्रेरित गर्दछ ।
यी विचराहरुलाई ज्ञानको प्रकाश छरेर अन्धकारबाट मुक्त गराउनुछ ।गौतम बुद्धले दिएको शिक्षामा पनि हरेक प्राणीहरु माथि दया, करुणा र प्रेम गर्ने कुरालाई जोड दिइएको छ । अहिलेको समाजले यो कुरालाई भुलेर गल्ती कमजोरी गरिरहेको छ । आफ्नै कमजोरी वाअरुको कारणले धेरै जसो मानिसहरुदुःखको भुमरीबाट उठ्न सकिरहेका छैनन् । अहिले सबै आत्माहरु कमजोर बनिसकेका छन् । आफूँभित्रको शक्तिलाई गुमाई सकेका छन् । आफूलाई कमजोर र दुःखी ठानिरहेका छन् । उनीहरु दुःखबाट मुक्तिपाउनकसैको पुकार गरिरहेकाछन् ।
यी सबै मानवआत्माहरु प्रतिदया राख्नु वा रहमगर्नु नै महानताहो । कसैको कमजोरीलाई हेरेर घृणा गर्नु छैन । दयाको अर्थ हो निर्वल आत्माहरुलाई बल दिनु, हिम्मत र हौसला प्रदान गर्नु । अज्ञानताको अध्यारोमा रुमलिएकाहरुलाई ज्ञानको प्रकाशपुञ्ज बनेर व्युझाउनु पनि रहमदिलबन्नु वादयावानबन्नु हो । मानवआत्माको मनभित्र दयाभाव प्रकट हुनको लागि ज्ञानको पनि आवश्यकता हुन्छ । ज्ञानीले आफूलाई पनि म को हुँ भनेर जान्दछ र अरुलाई पनि चिन्दछ । जब मानिसले आफूलाई शक्तिशाली आत्माको रुपमा जान्दछ र अरुलाई पनि बल, हिम्मत र हौसला दिएर शक्तिशाली बनाउन मद्दत गर्दछ । कमजोरलाई हेला र घृणा गरेर दमन र शोषण कदापि गर्दैन ।
म जस्तै अरु पनि आत्माहरु हुन् भन्ने ठान्दछ र सबैलाई भाइभाइको दृष्टिले हेर्दछ । यसरी विश्वका सबै आत्माहरुप्रति दयाभाव राख्दछ र सबैको कल्याण गर्दछ । अहिले संसारको वायुमण्डल नै बिग्रिसकेको छ । एकले अर्कालाई हेर्ने दृष्टिकोण नै बिग्रिसकेको छ । दया स्नेह र प्रेमको खडेरी परेको छ । यतिखेर प्रेम र स्नेहको भावनालाई बढाउन पनि दयाभावको खाँचो छ । कसैले कमजोरी गरेको छ भने प्रतिशोध र घृणाको भावले हेर्नु छैन । कहिलेकाहीँ जानीनजानी कसैले आफूलाई केही भनेर या गरेर दुःख दिएको छ र भावनामा चोट पु¥याउने काम गरेको छ भनेपनि ऊमाथि दया गरेर क्षमा दिनु राम्रो हो । सबै भन्दा ठूलो दान क्षमादान हो ।
गल्ती गर्ने व्यक्तिको अवस्था र विचार सधैं एकनास रहँदैन । उसमा पनि परिवर्तन आउँछ । उसले तत्काल नबुझे पनि कुनै दिन बुझ्ने छ । आफ्नो गल्तीका कुरालाई उसले जुन दिन बुझ्दछ, ऊ आफैँ सुध्रन्छ । पवित्र आत्माले कुनै पनि आत्मालाई घृणा गर्नु हुँदैन । अन्जान र अज्ञानीहरुले नै कमजोरी र गल्ती गर्ने हुन् । ज्ञानी मानिस त जहिले पनि होसियार रहन्छ । ऊबाट कमजोरी कम हुन्छ ।
भइहाले पनि महसुस गरी कमजोरी सुधार्न लागिहाल्छ । ज्ञानी मानिसहरुले अज्ञानीहरुमाथि घृणा गर्ने हैन, बरु अज्ञानी रहेछ त्यसैले त गल्ती गर्याे विचराले भनेर विशाल हृदय बनाएर दया नै गर्नु पर्दछ । बुझक्कड आत्माहरुले आफूलाई जहिले पनि विशेष आत्माको रुपमा महसुस गरिराखेका हुन्छन् । उनीहरु जुनसुकै परिस्थितिमा पनि अचल रहन्छन् ।
परस्थितिलाई हेरेर विचलित हुन्नन् । आफ्नो स्वस्थितिमा टिकिरहन्छन् । अरुबाट पाउने आशा त गर्दै गर्दैनन् बरु जतिबेला पनि दिने मात्र गर्दछन् । जो दिनेमात्र कोसिस गर्छ, त्यो नै देवता हो । दिनु नै उसको संस्कार बन्छ र ऊ यसैमा रमिरहन्छ । मैले यति गरें यति दिएँ भनेर गणना गरेर बस्नु पनि छैन, त्यो त सूक्ष्म अहंकार मात्र हो । त्यो दाताको संस्कार हैन । हरसेकेण्ड हरपल निरन्तर दिँदै जाने हो । यो नै असली सेवा हो ।
टिप्पणीहरू