एमाले युवा संघद्वारा चक्काजाम, वन कार्यालयमा तालाबन्दीको चेतावनी

एमाले युवा संघद्वारा चक्काजाम, वन कार्यालयमा तालाबन्दीको चेतावनी
सुन्नुहोस्

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले रौतहटको चन्द्रनिगापुरमा चक्काजाम गरेको छ । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा युवासंघले पूर्वपश्चिम राजमार्ग एक घण्टा चक्काजाम गरेको बताइएको छ । 

युवासंघका कार्यकर्ताहरूले स्थानीय डिभिजन वन कार्यालय अगाडि टायर बालेर चक्काजाम गरेका हुन् । केन्द्रीय सदस्य विक्रम लामालाई वन मुद्दामा पक्राउ गरेपछि युवासंघले चक्काजाम गरेको जानकारी दिइएको छ । 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकालेर काठ बिक्री गर्न लागेको थाहा पाएपछि संघका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेण्डरमा सहभागी हुन पाउनुपर्ने माग गरेका हुने । त्यसपछि उनलाई वन सम्बन्धी मुद्दामा थुनिएको युवासंघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए । 

‘गोप्य सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले आफूले पनि टेण्डरमा सहभागी हुन पाउनुपर्ने माग गरे । डिभिजन वन कार्यालयमा फर्म लिन गए । त्यहि समयमा कार्यालयले पक्राउ गरी हिरासतमा राखेको हो,’ यादवले भने । दुई महिनाअघि चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फडानीमा लामाको संलग्नताको आरोपमा पक्राउ गरिएको बताइन्छ ।

सहायक वन अधिकृत सुरेश महतो र सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामीको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवासंघ नेपालले चक्काजाम गरेका हुन् । बिना प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको जनाउँदै युवासंघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रा र सहायक वन अधिकृत महतोविरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर चक्काजाम गरेका हुन् ।

टायर बालेपछि राजमार्गमा केही घण्टा सवारी साधन आवागमन रोकिएको थियो । वन उपभोक्ता समितिका अध्यक्ष पुलामीले सहायक वन अधिकृत महतोले भनेबमोजिमको व्यवहोरा लेखेर डिभिजन वन कार्यालयमा पत्र बुझाइएको बताए । सामुदायिक वनले २२ सय क्युबिक फिट काठ बिक्रीका लागि गोप्य सूचना प्रकाशित गरेको थियो ।

काठ बिक्रीमा भाँजो हाल्न खोजेको आरोपमा लामालाई फसाउन खोजिएको युवासंघ नेपालले आरोप लगाउँदै आन्दोलन घोषणा गरिएको जनाएको छ । चक्काजामपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै संघका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालयका प्रमुख मिश्र र सहायक वन अधिकृत महतोलाई तत्काल विभागीय कारबाहीको माग गरेका छन् । लामाको रिहाईका साथै मिश्र र महतोलाई विभागीय कारबाही नभए पर्सिदेखि डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू