नयाँ गठबन्धन सजातीय तर अशुद्ध-माओवादी उपाध्यक्ष

नयाँ गठबन्धन सजातीय तर अशुद्ध-माओवादी उपाध्यक्ष

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता गठबन्धनमा विवादित मान्छेसमेत रहेकाले शुद्ध नभएको टिप्पणी गर्नुभएको छ । 

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आज आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । बहुमत पुर्याउनकै लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको पनि भुसालले स्पष्ट पार्नुभयो । 

सहकारी ठगि प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ इंकित गर्दै उहाँले विवादित मान्छेमा कमजोरी देखिए छुट नदिने प्रतिवद्धतासहित नयाँ गठबन्धन सरकार बनाइएको पनि बताउनुभयो । 

'नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर, पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ', पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष भुसालले भन्नुभयो ।

त्यसक्रममा उहाँले बाह्य शक्तिको आडमा नयाँ गठबन्धन बनेको भन्ने कतिपयको विश्लेषणको पूर्णत: खण्डन गर्नुभयो । यहीँका दल र नेताहरुले आवश्यकता महसुस गरेर नयाँ समीकरण बनेको उहाँको भनाई छ । 

'राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि एउटा हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको हो । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर होइन', भुसालले भन्नुभयो, 'यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र, यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो ।' 

शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै उहाँले त्यो पूरा गर्न नसके गठबन्धनमा बसिरहन नहुनेमा पनि जोड दिनुभएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई असहयोग नगरेका कारण राजनीतिक परिस्थित नयाँ ढंगले विकसित भएको उपाध्यक्ष भुसालको भनाई छ । वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि उहाँले बताउनुभयो । 

गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने विश्वास व्यक्त गर्दै भुसालले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान नसक्ने भएकाले एकताको चरणसम्म पुर्याउनुपर्ने धारणा पनि राख्नुभयो ।
 

टिप्पणीहरू