फ्लाइओभर निर्माणमा ढिलाई, घण्टौं सवारी साधनको जाम

फ्लाइओभर निर्माणमा ढिलाई, घण्टौं सवारी साधनको जाम

मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माणमा भएको ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को काम ‘कछुवा गतिमा’ अघि बढ्दा सर्वसाधारणले कष्ट भोग्नुपरेको हो ।

ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा दैनिक यात्रा कष्टकर बनेको सरकारी अधिकारीहरु बताउँछन् । चक्रपथमा बनाउन लागिएको ‘फ्लाइओभर’ को निर्माण आधा पनि सकिएको छैन । चार लेनमा तीन सय ५० मीटरको ‘फ्लाइओभर’ बनाउन लागिएकोमा बालकुमारीतर्फ २८० र सातदोबाटोतर्फ  १७५ मीटरको पाइल निर्माण गरिने बताइएको छ । 

झण्डै १८ करोड रुपैयाँमा लागतमा आशिष, समानान्तर र रेलिगेयर (संयुक्त) जेभीले ‘फ्लाइओभर’ बनाउने ठेकका पाएको छ । ‘फ्लाइओभर’ का लागि ठेकेदार कम्पनीसँग इन्जिनियरिङ्ग प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडेलमा २०७८ फागुन ११ गते ठेक्का सम्झौता भएको थियो । 

सम्झौता भएको दुई वर्षभित्र ‘फ्लाइओभर’ बनाउने उल्लेख थियो । बनाउन दिइएको म्याद सकिसकेको छ तर निर्माण सम्पन्न भएको छैन । सम्झौताअनुसार फागुन १२ गते नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । म्याद सकिँदासमेत आयोजनाको भौतिक प्रगति खासै देखिँदैन ।

ठेकेदार कम्पनीले पिल्लर निर्माणको काम अघि बढाएको छ । बीच सडकमा वाल निर्माणका लागि स्ल्याप हालिएको छ भने पुलको लागि बनाइने सात वटा बिम पनि निर्माण भइरहेको छ । पुलको पिलर निर्माणपछि केही समय सुक्न दिइने र परीक्षणपछि बिम राखेर ढलान गरिने निर्माण कम्पनीले जनाएको छ । 

‘फ्लाइओभर’ निर्माणपछि बालकुमारी–सातदोबाटोतर्फको सवारीसाधन पुलमाथिबाट गुड्छन् भने मंगलबजार–इमाडोलतर्फ जाने गाडी पुलमुनिबाट सञ्चालन हुनेछ । चक्रपथको निकै व्यस्तमध्येको ग्वार्को चोक र त्यसमाथि मुख्य लेन ‘फ्लाइओभर’ निर्माणका कारण बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् । 

अफिस टाइममा कोटेश्वरदेखि नै जाम हुने गरेको बताइन्छ । यता, ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मेहम्मे पर्ने गरेको छ । सुस्त काम र पटकपटक निर्माणमा अवरोध आउँदा सर्वसाधारण मारमा परेका हुन् । प्रत्येक दिन घण्टौं ट्राफिक जाममा बस्न बाध्य भइरहेका छन्,सर्वसाधारण । 

हजारौं सवारी साधन र दशौं हजार सर्वसाधारण ओहोरदोहोर गर्ने यो सडकखण्डमा बिहान ग्वार्को चोकदेखि बिएण्डबी हस्पिटल र बालकुमारी पुलसम्म सवारीसाधनको जाम पुग्ने गरेको छ । त्यस्तै, ‘रिङरोड’ बाहिर ग्वार्कोदेखि बाहुनधारा र भित्र पाटनको गाःबहालसम्म जाम हुन्छ । सातदोबाटो कार्यालय भएकी रिता नेपालीलाई ग्वार्कोको जामले धुरुक्कै रुवाउने गरेको छ । भक्तपुर सूर्यविनायक बस्ने उनी कार्यालय आउन र जानमा समस्या भएको बताउँछिन् । 

‘म भक्तपुरको सूर्यविनायक बस्छु । सातदोबाटोस्थित एउटा पसलमा काम गर्छु । बिहान १० बजे पुग्नुपर्ने हुन्छ । घरबाट जति छिटो निस्किएपनि समयमा पुग्न सकिँदैन । पहिले त जाम हुन्थ्यो झन् ग्वार्कोमा निर्माण थालेपछि त समस्या थपिएको छ । कहिलेकाँही घण्टौं जाममा बस्नुपर्छ । अलि फटाफटी काम गरिदिए त हामी सर्वसाधारणलाई पनि सहज हुने थियो’, उनले गुनासो पोखिन् । 

रिताको जस्तै गुनासो गर्छिन्, अस्मिता मल्ल । राधेराधेबाट एकान्तकुना आउने उनलाई जामले दिक्क पार्छ । ‘समयमा कतै पुग्नु छ भने दुई घण्टाअगावै घरबाट निस्किनुपर्ने अवस्था सिर्जना भएको छ । जाम पनि कति हो, मलाई त घरिघरि टाउको नै दुखेर आउँछ’, उनले भनिन् । 

डिजाइन परिवर्तनले ढिलाई 

पहिलेको डिजाइनअनुसार फिल्डमा काम गर्न नसकिएको भन्दै निर्माण कम्पनीको आग्रहमा सडक विभागले ‘फ्लाइओभर’ को डिजाइनसमेत संशोधन गरेको थियो । जसकारण निर्माणमा झनै ढिलाइ हुन पुगेको हो । विभागले तीन महिना अध्ययन गरेर गत भदौ १० गते संशोधित डिजाइन स्वीकृत गरेको थियो । 

जसअनुसार पहिला ‘फ्लाइओभर’ मा पाइल एकातर्फ चार र अर्कातर्फ पनि चार गरी आठ मोटा र ठूला हाल्ने भनिएकोमा पछि सामान नपाएपछि दुवैतर्फ साना तर धेरै अर्थात् १२÷१२ गरेर पाइल निर्माण गर्ने डिजाइन स्वीकृत गरिएको हो । त्यस्तै, पाइलको गहिराइ र डायमिटर पनि परिवर्तन गरिएको हो । शुरुमा आठ वटा पाइलको लम्बाइ ३४ मीटर र डायमिटर १÷५ मीटर तोकिएको थियो । तर, पछि डिजाइन संशोधनसँगै पाइलको डायमिटर १÷२ मीटर र लम्बाइ ३० मीटर कायम भएको हो । 

ठेकेदारद्वारा क्षतिपूर्ति माग 

सम्झौताअनुसार निर्धारित समयमा ‘फ्लाइओभर’  निर्माण हुन नसकेपछि निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले जरिवाना तिर्नुपर्नेमा उल्टै क्षतिपूर्तिको माग गरिरहेको छ । त्यसका लागि ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै सडक विभागमा निवेदन पनि दिएको बताइएको छ । डिजाइनभन्दा अतिरिक्त काम गर्नुपरेकाले ठेकेदार कम्पनीले विभागसँग थप साढे सात करोड रुपैयाँ र छ महिनाको म्याद मागेको हो । 

म्याद थप गरिँदै 

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार ठेक्काको म्याद थप गर्ने तर खर्च नबढाउने गरी अघि बढ्ने तयारी भइरहेको छ । आयोजनाको भू–सतह स्वीकृत डिजाइनभन्दा फरक देखिएको र ‘बेस’ मा अतिरिक्त काम गर्नुपर्ने भएकोले निर्माण व्यवसायीले थप रकम मागेको उनको भनाइ छ । ‘फ्लाइओभरको दाँयाबाँया निर्माण गर्नुपर्ने बाटोमुनि समेत पाइल हाल्नुपर्छ, जुन सम्झौता र डिजाइनमा समावेश छैन,’ उनले भने, ‘त्यसैले, ठेकेदार कम्पनीले थप रकम र समयको माग गरेको हो ।’

‘तर, सरकारको लागत नबढाउने र म्याद थप गरी असारसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग छलफल भइरहेको छ,’ उनले थपे । उनले निर्माण व्यवसायीले २४ सै घण्टा काम गरिरहेको दाबी समेत गरेका छन् । आगामी असार महिनासम्म ‘फ्लाइओभर’ निर्माण कार्य पूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको उनले सुनाए ।

टिप्पणीहरू