एमाले पूर्वपदाधिकारीको एकसाथ फायर

एमाले पूर्वपदाधिकारीको एकसाथ फायर

नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीका पूर्वपदाधिकारीले एकसाथ वर्तमान जिल्ला नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत निवर्तमान अध्यक्ष, उपाध्यक्ष र उपसचिवले नेतृत्वप्रति लक्ष्यित अभिव्यक्ति दिएका हुन् । 

फागुन १३ गते शैल्यशिखर नगर अधिवेशन सम्पन्न भएलगत्तै निवर्तमान अध्यक्ष प्रेमसिंह धामीले ‘मानिसले चरम अभाव र कहालीलाग्दा संकटका दिन सहन सक्छ तर आत्मसम्मान र स्वाभिमानमा आँच आउने व्यवहार सहन सक्दैन’ भन्ने महात्मा गान्धीको भनाइलाई फेसबुकमा राखेका छन् । 

त्यसको एक घण्टापछि पूर्वउपाध्यक्ष चरनसिंह बुढाथोकीले एक महिनाअघि सम्पन्न जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेकोमा पछिल्लो समय पार्टी सञ्चालनमा मनोमानी भइरहेको आरोप लगाएकी छन् । बुढाथोकीले पालिकास्तरीय अधिवेशन सञ्चालन भइरहँदा ‘महान् अभियानमा सरिक हुन गएका कमरेडहरूलाई घर फर्किन बाध्य हुनेगरी गरिएको व्यवहारप्रति दुःख व्यक्त गर्दै आवश्यक छानबिनका लागि  केन्द्रीय नेतृत्वलाई विनम्र अनुरोध गर्दछु’ भनेका छन् । 

शैल्यशिखर नगरपालिकाको अधिवेशनमा बालकोट निकट नेता हरदेव जोशी र निवर्तमान उपसचिव खडकसिंह बडाललाई दुव्र्यवहार गरिएको पूर्वपदाधिकारीको आरोप छ ।

वर्तमान जिल्ला अध्यक्ष ज्ञानेन्द्रबहादुर घर्तीसहित उपाध्यक्ष परमानन्द जोशी, सचिव उमेशराज जोशी, उपसचिव कर्णबहादुर खडायत सबैजसो पालिकाको अधिवेशनमा सहभागी भएका छन् । वर्तमान पदाधिकारीहरूसँगै निवर्तमान पदाधिकारीले पनि पालिकास्तरीय अधिवेशनमा सहभागी हुन खोज्दा दुबै पक्षबीच असमझदारी भएको स्रोतले बतायो । 

एक महिनाअघि सम्पन्न जिल्ला अधिवेशनबाट छानिएको नयाँ नेतृत्वले नौ वटै स्थानीय तहमा अधिवेशनको तालिका निर्माण गरेको छ । तालिका अनुसार मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाबाहेक सात वटै स्थानीय तहमा अधिवेशन पनि सम्पन्न भइसकेका छन् । 

स्रोतका अनुसार फागुन १३ गते शैल्यशिखर नगरपालिकाको पार्टी अधिवेशन सम्पन्न भएपछि जिल्ला इञ्चार्ज सहदेव बोगटीले नेता हरदेव जोशी र निवर्तमान उपसचिव खडकसिंह बडाललाई बाँकी पालिकाका अधिवेशनमा सहभागी नहुन आग्रह गरेका थिए ।

‘आवश्यकताभन्दा धेरै नेता पालिकाको अधिवेशनमा पुगेपछि मञ्च व्यवस्थापन, आवास र यातायातमा समेत समस्या भएको’ एक जिल्ला कमिटी सदस्यको भनाइ छ । ‘एउटै कार्यक्रममा दर्जनभन्दा बढी नेता सहभागी भएपछि आसनग्रहणदेखि शुभकामना मन्तव्य र आवास तथा यातायात व्यवस्थापनमा समेत समस्या भइरहेको’ ती नेताले बताउनुभयो । 

लेकम, व्यास र दुहुँ गाउँपालिका अधिवेशनपछि फागुन १३ गते शैल्यशिखर नगरपालिकामा अधिवेशन आयोजना गरिएको हो । सबै पालिकाका अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भइरहेको छ । 

फागुन १४ गते नौगाड र १५ गते मार्मा गाउँपालिकामा एमालेको गाउँपालिका अधिवेशन आयोजना गरिएको छ । दुबै गाउँपालिकाको अधिवेशनमा जिल्ला इञ्चार्ज बोगटी र जिल्ला पदाधिकारीको टिम सहभागी बनेको छ । फागुन १७ गते अपिहिमाल गाउँपालिकाको अधिवेशनमा अध्यक्ष घर्तीबाहेकका नेता सहभागी थिए भने अध्यक्ष घर्ती व्यक्तिगत कामविशेषले सदरमुकाम फर्किएका छन् । 

निवर्तमान अध्यक्ष र उपाध्यक्षले फेसबुकमार्फत असन्तुष्टि पोखेको एक घण्टापछि निवर्तमान उपसचिव खडकसिंह बडालले फेसबुकमा लेखेका छन्– ‘समय आएपछि बुझ्नेछौ । थाहा होला नि निःशुल्क रुपमा प्राप्त हुने अक्सिजन पनि अस्पतालमा कति महँगो पर्छ भनेर ।’

निवर्तमान उपाध्यक्ष चरनसिंह बुढाथोकीले फेकबुकमार्फत दुव्र्यवहार भएको घटनाबारे छानबिन गर्न केन्द्रीय नेतृत्वसँग मागसमेत गरेका छन् । एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना र जिल्ला इञ्चार्ज सहदेव बोगटीलाई फेसबुकमा ट्याग गरेर उनले यस्तो माग गरेका छन् । 

माघ तेस्रो साता सम्पन्न जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दा निवर्तमान पदाधिकारीले भने जिम्मेवारीविहीन हुनुपरेको थियो । वर्तमान जिल्ला कमिटीको पदाधिकारीमा सबै नयाँ अनुहार आउँदा निवर्तमानहरूले कहीँ पनि भूमिका पाएका छैनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको सचिवालयमा उपसचिव बनेका नेता हरदेव जोशी र उनको पक्षले पार्टीभित्र उचित भूमिका खोजिरहेको छ । नेतृत्वका आकांक्षी धेरै भएकाले र जोशी पक्षधरको लोकप्रियता नभएकाले बालकोटनिकट भएर पनि दार्चुलाको एमालेमा ओलीको विश्वासिलो टिम भूमिकाविहीन छ । 
 

टिप्पणीहरू