लिखित सहमति भए मात्रै विश्वासको मत दिइन्छ : एकीकृत समाजवादी

लिखित सहमति भए मात्रै विश्वासको मत दिइन्छ : एकीकृत समाजवादी
सुन्नुहोस्

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने बताएको छ । आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले गरेको निर्णयमा उल्लेख छ । 

पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पनि पार्टीले यसअघि उठाएका विषयमा लिखित सहमति जनाएमात्रै सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् । प्रधानमन्त्रीलाई आग्रह गरिएका केही मागहरुको सुनुवाई नभए भोट हाल्न जरुरी नरहेको चौधरीको भनाई छ । 

उनले भने ‘हामीले भनेको केही कुरामा प्रधानमन्त्रीज्यूले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौं । र, प्रतिनिधिसभामा पनि उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं ।’

आफ्ना कुराको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको समाजवादीको ठहर छ । चौधरीले भने, ‘सरकार ढल्ने वा रहने भन्ने कुरा प्रचण्डमै भरपर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न ।’

टिप्पणीहरू