अध्यक्ष नपाएका सिटौला राष्ट्रिय सभाको भूमिकाप्रति असन्तुष्ट
संविधानको मर्म अनुसार राष्ट्रिय सभा संचालन नभएको भन्दै सांसद कृष्णप्रसाद सिटौलाले असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष चयन गर्न आज बसेको राष्ट्रिय सभाको बैठकपछि उनले सभाको भूमिकाप्रति आफूहरु गम्भीर रहेको बताए । ‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भिर छौँ । र गम्भिरतापूर्वक छलफल गर्नेछौँ', सिटौलाले भने ।
राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको थलो भन्ने तर, सामान्य प्राविधिक रुपमा मात्रै राख्ने विद्यमान तरिका बदल्नुपर्नेमा उनको जोड छ । कांग्रेसले रचनात्मक र बलियो प्रतिपक्षको भूमिकामा रहेर मुलुकको राजनीतिक कोर्षलाई सही बाटोमा लैजान आवाज उठाउने पनि सिटौलाले बताए ।
कांग्रेस संविधानभित्रबाट डेढ चल्नुपर्छ भन्ने मान्यतामा रहेको जनाउँदै उनले राज्य सञ्चालकहरुले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे । आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने उनको भनाई छ ।
'हामी नेपाली काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ', सिटौलाले भने, 'यो संविधानभित्रबाट राज्य सञ्चालन हुनुपर्छ र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने कांग्रेसको मान्यतामा रहेर हामी जनताको हितमा आवाज उठाउँछौँ ।’
प्रतिनिधिसभातर्फ लगालग दुइवटा चुनाव हारेका सिटौला गत माघ ११ गरे राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । तत्कालीन सत्ता गठबन्धनले उनलाई अध्यक्ष बनाउने तयारीका साथ राष्ट्रियसभाको उम्मेदवार बनाएको चर्चा थियो । तर, प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य छोडेर एमालेसहितको नयाँ समीकरण बनाएपछि सिटौला उम्मेदवार बनेनन् ।
टिप्पणीहरू