चिरीबाबुले आँखा चिम्लिँदा जनता चकित

चिरीबाबुले आँखा चिम्लिँदा जनता चकित
सुन्नुहोस्

ललितपुर महानगरपालिकाका जनप्रतिनिधिले सार्वजनिक जग्गा मिच्नेलाई जोगाएको स्थानीयको आरोप छ । वडा नम्बर ३, मनकामना मार्गस्थित केशरबहादुर शाही ठकुरीले बाटोको जग्गा मिचेर साग रोपेका छन् । 

वडा कार्यालय भने यस विषयमा मौन छ । ढुंगाको बार लगाएर तरकारी रोपिदिँदा सडक साँघुरिएको छ । एउटा गाडी छिर्न हम्मेहम्मे छ । केही महिनाअघि एउटा रातो कार स्थानीय शान्ताराज धाख्वाको घरमा गएर ठोक्कियो । 

गाडीको लाइट फुट्नुका साथै अगाडिको भाग पनि कुच्चियो । मनकामना मार्ग छिर्नेबित्तिकै शान्तराजको घर देखिन्छ । त्यसअगाडिको घर केशरबहादुरको हो । पेशाले जग्गा कारोबारी केशरले कुल चार आना दुई पैसा जग्गा खरिद गरेकोमा कागजात मिलाएर पाँच आना बनाएको देखिन्छ । 

२१०१ कित्ता नम्बर भएको सो जग्गा श्रीमती सुलोचनाको नाममा छ । बाहिरी जिल्लाका उनले २०६६ सालतिर प्रतिआना १२ लाखको दरले चार आना दुई पैसा किनेका थिए । शुरुमा आफ्नो जग्गा मात्रै घेरेर पर्खाल लगाए । पछि पुरानो पर्खाल भत्काएर तीन फिट बाटोको जग्गा मिची नयाँ पर्खाल खडा गरिदिए । 

ललितपुर महानगरपालिकाले त्यतिबेला उनको पर्खाल भत्कायो तर आधा मात्रै । हाल त्यसमाथि नै इँटा थुपारेका छन् । पहिले सो जग्गामा सरस्वती हुमागाईं टहरा हालेर बसेकी थिइन् । सवारी आवतजावत गर्न अप्ठेरो भएपछि शान्तराज र केशर दुवैले मिलेर हटाए । हुमागाईं त्यहाँबाट हटेपछि केशरले सो जग्गा आफ्नो भन्न थाले । जबकि सबैलाई त्यो बाटोको जग्गा हो भन्ने स्पष्ट थाहा छ । उनले जग्गा आफ्नो हो भन्दै मारमुंग्र्री गर्न थालेपछि स्थानीय आजित भएका छन् । 

उनले जबरजस्ती मकै रोपे । टोलबासीले महानगर गुहारेपछि नगर विकास समितिका पदाधिकारी आए । त्यो सार्वजनिक जग्गा नै हो भन्ने पुष्टि भएसँगै नगर प्रहरीले डोजर लगायो । सबै मकै भाँचेर त्यस स्थानलाई खुला बनाइयो । जग्गा खाली पारिएपछि टोलबासी निकै हर्षित भए । तर, केशरले त्यसपछि पनि त्यो जग्गा आफ्नो हो भन्न छाडेनन् । 

मकै हटाएपछि साग छरिदिए । उनको घर भएको ठाउँमा पहिले जेएलडी बाटो थियो । केशरको भनाइमा मन्त्रिपरिषद्को बैठकले त्यहाँको जेएलडी बाटो रद्द गरेको हो । हाल उनले आफ्नो गेटअगाडि ढुंगा थुपारेका छन् । जसले गर्दा बाटो झनै साँघुरो बन्न पुगेको छ । नगर प्रहरीले मकै हटाउँदा वडाध्यक्ष श्रीगोपाल महर्जन परैबाट हेरेर बसेको टोलबासी बताउँछन् । 

नगर विकास समितिका तत्कालीन अध्यक्ष पूर्ण महर्जनले सो सार्वजनिक जग्गा भएको पुष्टि गरे । केशरलाई जतिभन्दा पनि नलाग्ने उनको गुनासो छ । ‘पहिले कम्पाउण्ड घेरेकोसम्म चाहिँ उहाँको जग्गा हो । बाहिर जुन उहाँले तरकारी रोपिराख्नुभएको छ, त्योचाहिँ सार्वजनिक नै हो । उहाँले अति नै गर्नुभएको छ । म हुँदापनि पटकपटक हटाउन भनें तर मान्नुभएन । कम्पाउण्डचाहिँ महानगरपालिकाले नै हटाएको हो । नक्सा हेर्दा त्यो सार्वजनिक जग्गा हो भन्ने स्पष्ट हुन्छ’, उनले भने । 

सार्वजनिक जग्गासम्बन्धी विवाद ललितपुर जिल्ला अदालतसम्म पुगेको छ । यता, वडाध्यक्ष महर्जनले भने आफू नगएपनि वडा कार्यालयबाट प्रतिनिधि उपस्थित भएको बताए । सार्वजनिक जग्गाको विवाद महानगरदेखि अदालतसम्म पुगेकाले वडा कार्यालयले केही गर्न नसक्ने उनको प्रतिक्रिया छ । 

एक जना टोलबासीले भने, ‘महानगरपालिकाबाट कर्मचारी आउनेबित्तिकै केशरबहादुरले आफ्नो घरभित्र लैजानुहुन्छ । त्यहाँभित्र के कुरा हुन्छ थाहा भएन । त्यसपछि कर्मचारी हात जोड्ँदै निस्किनुहुन्छ । उहाँसँग कुनै प्रमाण छैन । हामीले पटकपटक प्रमाण देखाउन भनिसकेका छौं तर सक्नुभएको छैन ।’

बाटो मिच्ने मेयरको भिनाजु पनि

ललितपुरका मेयर चिरीबाबु महर्जनका स्वर्गीय भिनाजु दीपक महर्जनले पनि बाटो मिचेर पर्खाल लगाएका रहेछन् । ठेकेदार काम गर्दै आएका उनले बाटो मिचेर पर्खाल लगाएपछि छिमेकी आभा शाक्यले पनि त्यही हर्कत गरेकी हुन् । आभाको घरको पर्खाल अन्दाजी ६ फिट बाहिर आएको छ । 

उनको घर प्राइम कोलोनीभित्र छ । शुरुमा प्राइम कोलोनी पनि नक्सा पास नगरिकन बनाइएको थियो । पछि मात्रै नक्सा पास गरिएको हो । मेयरका भिनाजुले बाटोमा पर्खाल लगाएको देखेपछि उनी पनि हौसिएकी हुन् । डाक्टर पेशाकी उनको पर्खाल भत्काउन माग गर्दै अधिवक्ता बुद्धिरत्न शाक्यले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 

आफ्नै भिनाजुले गैरकानुनी काम गरेकाले मेयर कारबाही गर्न डग्मगाएको बताइन्छ । यता, जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलाशले कित्ता नम्बर २३५६ भएको आभाको जग्गा नापजाँच गर्न आदेश दिएको छ । 

नापी कार्यालय, ललितपुरले जारी गरेको नयाँ नक्सामै गडबडी देखिएको छ । नक्साबाट बाटो नै गायब बनाइएको छ । केशरको घरको छेउबाट गएको बाटो नयाँ नक्सामा छैन । नक्साबाट बाटो बेपत्ता पार्नुको पछाडि कार्यालयका कर्मचारीको नियतमा खोट भएको बुद्धिरत्न बताउँछन् । उनले कार्यालयमा गएर बाटो हाल्न लगाउने बताए । यता, मनकामना मार्गभित्रका कुनै पनि पर्खालको नक्सा पास छैन ।
 

टिप्पणीहरू