आफूमाथिको आरोपलाई ‘दुधको दुध, पानीको पानी’ पार्न गृहमन्त्रीलाई सडकबाट चुनौति
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागेको भन्दै ’दुधको दुध, पानीको पानी’ पार्न चुनौति दिएका छन् ।
आज काठमाडौंमा आयोजित बृहत जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न लामिछानेलाई आग्रह गरेका छन् । आफूमाथि लागेका आरोप प्रष्ट नपारि गृहमन्त्री लामिछानेले भ्रष्टाचारका घटनाको अनुसन्धान अघि बढाउन नसक्ने थापाको भनाई छ ।
गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिन्छन् भनेर आफूहरुले हेरिराखेको पनि उनले बताए । ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपार्इंमाथि पनि सहकारी ठगीको आरोप लागेको छ, के तपार्इं त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?’, उनले सोधे, ‘हामी हेरिराखेका छौँ नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनु हुनेछ ?’
अध्यक्ष थापाले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरु सुन तस्करीलगायत भ्रष्टाचार काण्डमा संलग्न रहेको जनाउँदै उनीहरुलाई कारबाही गर्न पनि माग गरेका छन् । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्ने हो ? भनी उनले गृहमन्त्री लामिछानेलाई प्रश्नसमेत गरे ।
‘चाहे ललिता निवास जग्गाकाण्ड भन्नुहोस् । चाहे सुन तस्करीको काण्ड । चाहे नक्कली भूटानी शरणार्थी काण्ड । चाहे गिरिबन्धु टि–स्टेटको जग्गाकाण्ड भन्नुहोस् । वा सहकारी ठगि काण्ड । प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु संलग्न भएका छन्’, उनले भने, ‘उपराष्ट्रपति, सभामुख, मन्त्रीका छोराहरु स्वयम् सुन तस्करीलगायत भ्रष्टाचारका काण्डमा संलग्न छन् । म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाईं ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? के तपाईं सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ ?’
टिप्पणीहरू