संसदमा गृहमन्त्रीको नैतिकता खोजियो
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । अरुमाथि प्रश्न गरेरै राजनीतिमा आएका लामिछानेले आफूमाथि उठेका प्रश्न बोकेर गृहमन्त्री हुननहुने उनको जिकिर छ ।
‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्नमात्रै पाउनुपर्छ । आफ्नाबिरुद्ध प्रश्नहरु उठाउन मिल्दैन, प्रश्नहरुलाई निषेध गर्न पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो', सांसद पौडेलले भने ।
सहकारी ठगी प्रकरणमा नाम जोडिएका लामिछाने उक्त आरोप बोकेरै गृहमन्त्रीको कुर्सीमा पुगेपछि आमरुपमा पनि प्रश्न उठिरहँदा कांग्रेसले संसदबाट जवाफ खोजेको हो । अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ ? भनी पौडेलले प्रश्न गरेका छन् ।
आज ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता छन् । ति वचतकर्ताको माग छ, सहकारी सञ्चालकको सम्पतीबाट हाम्रो वचत फिर्ता दिनुपर्छ । अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु', उनले भने ।
पौडेलले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै लामिछानेको आलोचना गरे । प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने उनको भनाई छ ।
'म आग्रह गर्न चाहन्छु- मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रश्तुत गर्नुस्’, सांसद पौडेलले भने ।
टिप्पणीहरू