यसरी रोक्न खोजियो मन्त्रीको नाम

यसरी रोक्न खोजियो मन्त्रीको नाम
सुन्नुहोस्

‘केही हुनेवाला छ’, मान्यहरू कराउँदै थिए । त्यसमाथि पुस्तैनी झगडाको अर्को मार !

सत्तारुढ जसपाभित्र यस्तो देखिएको हो । शुक्रबार बिहान कार्यसम्पादन समितिको बैठकमा सरकारमा पठाइने दुई जनाको नाम अनुमोदन गर्न प्रस्ताव प्रस्तुत भयो । अनि, रेणु यादव कराउन थालिन्, ‘हतार नगरौं, केही हुनेवाला छ, यो सरकार नटिक्नेवाला छ...!’ यस्तो कुरा सुनेर एकछिन सबै चूपचाप भए । तर, अध्यक्ष उपेन्द्र यादवले ‘त्यस्तो केही छैन’ भनेपछि अरुले बोल्न पाएनन् । नत्र, राजकिशोर यादव, मो.इस्तियाक राइनहरू पनि रेणुकै लाइनमा थिए, केही बोल्न खोज्दै थिए । 

भनिन्छ, उनीहरू भारतीय गुप्तचर संस्था ‘रअ’ का माथिल्लो तहबाट हैन, अधिकृतस्तरका मान्छेले भनेको कुरा सुन्ने गर्छन् । माथिल्लो तहबाट कुरा आउने नेताहरू सबै चूपचाप हुने, रेणुहरूमात्रै कराउने कारण उनको सूचनालाई कसैले पत्याएन । 

उता, मृगेन्द्रसिंह यादव र पूर्वमन्त्रीसमेत रहेकी रेणुबीच पुरानो, पुस्तैनी झगडाको मारमा पार्टी नेतृत्व परेको छ । रेणुका श्रीमान्लाई मृगेन्द्रको खलकले बन्दुक ताकेर हानेको र ज्यान गएको भन्ने गरिन्छ । यो झगडामा तेस्रो पुस्तासम्म जोडिन पुगेको छ । बाबु–बाबुबीचको झगडाले छोरा पुस्तामा मृगेन्द्र र रेणुबीच दरार ल्यायो । अहिले मृगेन्द्र र रेणुका सन्तानको तहमा झगडा चर्किएको छ । आफ्नै भाइ अनिरुद्रलाई चुनाव हराएर तत्कालिन राजपाबाट मृगेन्द्रले राष्ट्रियसभाको चुनाव जितेका थिए । अहिले ती दाजुभाइमात्रै हैन, दुश्मनी सम्बन्ध रहेकी रेणुसमेत एउटै पार्टी, अर्थात् जसपामा छन् । 

२०७४ को निर्वाचनमा सप्तरीको प्रदेशसभा ४ (ख) बाट रेणुका छोरा अभिषेक जितेका थिए । गत वर्षको निर्वाचनमा अभिषेकले टिकट नपाएर त्यहाँबाट मृगेन्द्रका भाइ अनिरुद्र उम्मेदवार भए । अनिरुद्रका छोरा आतेशकुमार सिंह सप्तरीकै बोदे बर्साइन नगरपालिकामा मेयर छन् । एक त रेणुका छोरालाई प्रदेशसभाको टिकट नदिइएको रिस, त्यसमाथि उनको सट्टा टिकट पाएका अनिरुद्रका छोरा आतेशलाई उपेन्द्र यादवले भर्खरै जसपामा प्रवेश गराएको अर्को रिस ।

यो रिसको चपेटामा उपेन्द्र यादव आफैं परेका छन् । ०७९ मंसिरमा सप्तरीबाट चुनाव हार्नुसँग यो घटनाको पनि सम्बन्ध छ । अहिले पनि पार्टीभित्र केही कुरा गर्‍यो  कि रेणु यही रिस निकाल्दै फन्किने गरेको बताइन्छ ।

टिप्पणीहरू