एकताको हल्लाकै बीच एसको महाधिवेशन
नयाँ सत्ता गठबन्धनमा सामेल भएको नेकपा (एकीकृत समाजवादी) १० औं महाधिवेशनमा जुटेको छ । ०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा उक्त पार्टीको महाधिवेशन हुने भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टी र एमालेबीच एकताको सम्भावना बलियो बनेको भनी बजार गर्माइरहेकै बेला अन्तरपार्टी निर्देशन (अपानि)– १३ जारी गर्दै महाधिवेशन तयारीका निम्ति गठित विभिन्न समितिहरुको नामावली सार्वजनिक भएको छ ।
एमालेसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुनुलाई एकताको सम्भावना बलियो भएका रुपमा हेर्ने गरिएकोमा अपानिले तत्काल एकतातर्फ परिस्थिति नमोडिएको स्पष्ट पारेको छ । केन्द्रीय सचिवालयको ७५ देखि ७७ औं बैठकको निर्णय उल्लेख गर्दै भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उद्देश्य,प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन । तसर्थ, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य,प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्ने ।’
०८१ वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनका निम्ति दल दर्ताका लागि पोलिटव्युरो सदस्य रामकुमार भट्टराईलाई जिम्मेवारी दिँदै उक्त पार्टीका तर्फबाट उम्मेदवार हुने औपचारिक पत्रमा पार्टी अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर गर्न अधिकार प्रत्यायोजित गरेको छ ।
महाधिवेशन सम्पन्न गर्नका निम्ति विभिन्न १३ वटा कमिटी अपानि १३ मा जारी भएको छ । हेर्नुहोस्,अपानिमा उल्लेखित सूची ।
टिप्पणीहरू