वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पेर मेयर र उपमेयर विदेश सयरमा
मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख को को हुन् ? तपाईं भन्नुहोला केदारप्रसाद गुरागाइँ र अकली चौधरी । तपाईंको उत्तर नि बेठिक त होइन, तर यो हप्ता सुन्दरहरैँचा नगरपालिकाका मेयर न केदारप्रसाद गुरागाइँ छन्, न उपमेयर अकली चौधरी । एक हप्ताको निम्ति नगरप्रमुख बनेका छन् वडा नम्बर ११ का सोझा वडाध्यक्ष बिसनलाल चौधरी ।
मेयर र उपमेयरको टोली यो हप्ता चीन भ्रमणमा छ । आर्थिक संकटले देश थलिएको र आर्थिक वर्षको उत्तराद्र्धमा बजेट कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका योजना सक्नुपर्ने बेला ६ महिनामा दोस्रोपटक मेयर र उपमेयर नै एउटा जम्बो टोलीसहित आठ दिने विदेश भ्रमणमा छन् ।
पालिकामा एकै पार्टीका मेयर र उपमेयर वा अध्यक्ष र उपाध्यक्ष हुँदा कस्तो मनोमानी हुन्छ भन्ने एउटा उदाहरण हो यो । खासमा चीन भ्रमणको योजना न्यायिक समितिको लागि उताको न्याय सम्पादनबारे अध्ययन र अवलोकन गर्नको लागि भनिएको थियो । त्यस हिसाबले चीन भ्रमणमा एमालेबाट जितेकी उपमेयर अकली चौधरी नेतृत्वको टोली जानेवाला थियो । त्यस्तै हुनुपर्ने पनि हो तर उही पार्टीका मेयर केदारप्रसाद गुरागाइँ पनि सँगै चीन भ्रमणमा गए ।
उनीहरु विदेश जानुअघि २०८० फागुन २९ गते लेटाङ्ग नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले चीन भ्रमणमा जान लागेका मेयर र उपमेयरको जोडीसहित आफू र बेलबारीका मेयर दिलप्रसाद राईलगायत ५ जना भएको फोटो फेसबुकमा पोस्ट्याउँदै लेखेकी थिइन् ‘सुन्दरहरैंचा नगरपालिकाको प्रमुख उपप्रमुखसहित सम्पूर्ण टिमको ८ दिने चीन यात्रा उपलब्धिमुलक र शुभ रहोस् !!’
त्यसबाहेक भ्रमण यति गुपचुप राखिएको छ कि सामाजिक सञ्जालमा समेत मेयर र उप मेयरले विदेश जानु अघिदेखि मंगलबार अबेरसम्म एउटा फोटो वा स्टाटससम्म पनि पोस्ट गरेका छैनन् । न सचिवालयले नै कुनै सूचना सार्वजनिक गरेका छन् । भ्रमणमा सहभागी वडाध्यक्ष कैलास बस्नेतले तीन चार दिनअघि चीनमै खिचेको फोटो फेसबुकको प्रोफाइल पिक्चर बनाएपनि केही लेखिएको छैन ।
न्याय सम्पादनको भ्रमणमा उपमेयरको पछि लागेर मेयर पनि विदेश गएपछि मेयरले आफ्नो मर्यादा भुलेको भन्दै सर्वत्र आलोचना सुनिएको छ । विदेश भ्रमणबारे कहिँ कतै सार्वजनिक जानकारी नगराइएको र गुपचुममै मेयर र उपमेयर बाटो लागेकोले हाल नगरपालिका क्षेत्रका चिया पसलदेखि चोक चोकमा मानिसहरुले मेयर र उपमेयर पटकपटक नगरपालिकाको खर्चले विदेश गएका कि व्यक्तिगत खर्चमा ? मैत्रीपूर्ण भ्रमण हो भने त्यसको उद्देश्य के हो र कसरी प्रतिनिधिमण्डल छनौट भो ? खर्च व्यव्स्थापन कसरी भो ? जस्ता जिज्ञासा पोख्दै गफिन थालेका छन् ।
मेयर र उपमेयर नै कोरिया गएर आएको छ महिना मात्रै हुँदैछ । उनीहरू गत असोज ६ गते शनिबार एक हप्ते कोरिया भ्रमणमा गएका थिए । जनप्रतिनिधिले कुनै कुरा सिक्न वा हेर्न, विकासको मोडल हेरेर अनुसरण गर्न, सरसहयोग जुटाउन पनि विभिन्न ठाउँ पुग्नु र अध्ययन अवलोकन गर्नु नराम्रो होइन । तर त्यस्ता विषय आमजनतालाई जानकारी नगराई गुपचुपमै विदेश जाँदा भ्रमण किन भयो र उपलब्धि के के भए भन्नेबारे प्रश्न उठ्न थालेको हो ।
नेपाल सरकारको स्वीकृति र अनुमतिमा स्थानीय तहका जनप्रतिनिधिहरु वैदेशिक भ्रमणमा जानसक्ने छ । तर अहिलेको आर्थिक संकट योजना कार्यान्वयन गर्नुपर्ने बेला नगरपालिकाको खर्चमा बारम्बार हुने यस्ता भ्रमणले उपयुक्त नभएको सुन्दरहरैंचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकाल बताउँछन् । ‘कामकाज नै प्रभावित हुनेगरी रहर पूरा गर्न गएजस्तो छ, छ महिनामै विदेश भ्रमणको मोह देखिनु गलत भयो,’ ढकालले भने । निमन्त्रणा गर्ने निकाय, भ्रमणको आधार र उपलब्धि एवम् खर्च व्यवस्थापनबारे जनतालाई जानकारी नदिई गुपचुपमा राख्नु र लामो समय नगरपालिका नेतृत्वविहीन पारेर विदेश भ्रमणमा जानु गलत भएको उनको तर्क छ ।
संघीय पुनर्संरचनाको क्रममा दुई नगरपालिका मिलेर बनेको सुन्दरहरैंचा नगरपालिकामा झण्डै डेढसय कर्मचारीको नेतृत्व गर्ने प्रमुख प्रसासकीय अधिकृत सरुवा भएर नयाँ प्रशासकीय अधिकृत आएको महिना दिन पनि बितेको छैन । केही महिना पहिले लेखा अधिकृतलाई अख्तियारले घुस बुझेको आरोपमा पक्राउ गरेपछि कार्यवाहक अर्का लेखा अधिकृतले पनि करिब एक महिनाअघि जागिरबाटै राजीनामा दिएपछि लेखा अधिकृत पनि भर्खरै फेरिएका छन् ।
हाल संघीय सरकारले दिएका ससर्त अनुदानका योजनाहरु पूरा हुन नसकी फिर्ता हुने अवस्था छ । नगरपालिकाका कतिपय योजना ठेक्का लाग्नै बाँकी छन् भने धेरै योजना सम्पन्न हुन नसक्ने अवस्थामा छन् । अघिल्लो कार्यकालमा विश्व बैंकसँग भएको सम्झौताका योजनाको पनि टेण्डर खुलेपछि सो ठेक्का कसले पार्ने वा कसलाई पार्ने भन्दै केही इन्जिनियर र कन्सल्टेन्सीहरु काठमाडौँका ठूला ठेकेदारहरुकोमा धाइरहेको स्रोतको दावी छ ।
पर्दा पछाडिको खेल, व्यक्तिगत महत्वाकांक्षा, असक्षम नेतृत्व र नगरपालिकाको लापरबाहीले कतिपय योजना ठेक्का नलागेको एमालेकै एक स्थानीय नेताले बताए । त्यसो त सुन्दरहरैंचा नगरपालिकामा मेयर र उपमेयर एमालेकै भएपनि उनीहरुको कार्यशैलीको कारण धेरै नेता कार्यकर्ता असन्तुष्ट देखिन्छन् । जनप्रतिनिधिकै कारण पार्टीको अवस्था खस्किँदै गएको उनीहरुको भनाई छ ।
कार्यवाहक मेयरको जिम्मेवारी पाएका वडा नम्बर ११ का वडाध्यक्ष बिसनलाल चौधरीलाइ मेयर उपमेयरको विदेश भ्रमणबारे जिज्ञासा राख्दा मेयर उपमेयरको टोली एक हप्ते भ्रमणमा गएको स्वीकारे । भ्रमण टोलीमा मेयर र उपमेयरसहित वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेत र रोशन उप्रेती छन् । मेयर फोहोर मैला व्यवस्थापन अध्ययनका लागि र उपमेयरसहित अरु न्याय सम्पादनबारे अध्ययन अवलोकनको निम्ति गएको उनको भनाई छ ।
उनीहरू भोलि चीनबाट काठमाडौं फर्कने कार्यक्रम छ । व्यक्तिगत कि नगरको खर्चमा मेयर उपमेयर विदेश गएका हुन् ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् । चौधरी भन्छन्, ‘संघीय सरकारसँगको समन्वयमा उहाँहरु चीन जानुभएको हो ।’
टिप्पणीहरू