काजीसा’ब सुटुक्क बेइजिङ जाँदै

काजीसा’ब सुटुक्क बेइजिङ जाँदै
सुन्नुहोस्

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नाता जोडेलगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सुटुक्क चीन जान लागेका छन् । प्राप्त जानकारीअनुसार उनले बेइजिङ पुगेर समकक्षी वाङ यीसँग भेट गरी नेपालको वर्तमान गठबन्धन सरकार र भूराजनीतिका बारेमा व्याख्या गर्नेछन् । 

उनको चीन भ्रमणको खेस्रा कार्यतालिका जनआस्थाले प्राप्त गरेको छ । जसअनुसार, चैत ११ गते आइतबार साँझ उनी ग्वाङजाउ र १२ गते बेइजिङ पुग्नेछन् । १३ गते समकक्षीसँग भेट गर्ने कार्यक्रम तय भएको छ । सोही दिन नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर संबोधन गर्नेछन् । वैशाखमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा दूतावासले चिनियाँ लगानीकर्ता भेला गर्न लागेको र त्यसमा श्रेष्ठले संबोधन गर्ने कार्यक्रम तय भएको हो । चैत १४ गते उनी छोङछिङ उड्नेछन् । १५ गते एक कार्यक्रममा सहभागी भएपछि १६ गते शुक्रबार ल्हासा जाने कार्यक्रम छ । ल्हासा पुगेको भोलिपल्ट अर्थात् चैत १७ गते शनिबार मानसरोवर तीर्थयात्रामा पुग्नेछन् । 

यो भ्रमणको मुख्य उद्देश्य नै मानसरोवर तीर्थयात्रा गर्नु रहेको छ । गत कात्तिकको तेस्रो बेल्ट एण्ड रोड शिखर मञ्चमा सहभागी भएको बेलै मानसरोवर जान चाहन्थे । तर मुटुको समस्याले बेइजिङमै अस्पताल भर्ना भएपछि सो सपना पूरा भएको थिएन । त्यही मेसोमा मानसरोवर यात्रालाई बेइजिङको भेटले छोप्ने तारतम्य मिलाएका हुन् । श्रेष्ठ चैत १८ गते आइतबार छङ्तु फर्कनेछन् भने १९ गते सोमबार बिहान नेपाल आउने कार्यक्रम  छ । उनको चीन भ्रमणकै समय पोआओ मञ्चको वार्षिक कार्यक्रम आयोजना हुँदै छ । चीनले निकै महत्वका साथ उठाएको र यसको स्थापनामा नेपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उक्त मञ्चमा सहभागी हुनचाहिँ नारायणकाजी श्रेष्ठले कुनै जाँगर देखाएका छैनन् । परराष्ट्रका एक कर्मचारी भन्छन्, ‘अब लाजगालले त्यहाँ पनि पुगेर इज्जत जोगाए भने अर्कै कुरा । अहिलेसम्मको खाकामा चाहिँ त्यहाँ जाने योजना छैन ।’
 

टिप्पणीहरू