सिटी स्क्यान जोड्न २ वर्षमा पनि सकस

सिटी स्क्यान जोड्न २ वर्षमा पनि सकस
सुन्नुहोस्

– यदुनाथ बञ्जारा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले सिटी स्क्यान किनेको ३ वर्ष हुन लाग्यो तर अझैसम्म आपूर्तिकर्ताले हस्तान्तरण गर्न सकेको छैन । हस्पिटेक इन्टरप्राइजेज काठमाडौँ र प्रतिष्ठानबीच ०७८/०३/०४ गते खरिद सम्झौतानिम्ति टिप्पणी सदर भएको थियो ।

७ करोड ५६ लाख ४९ हजार ५५५ रूपैयाँमा स्वीकृत स्पेसिफिकेसन बमोजिमको सिटी स्क्यान मेसिन सञ्चालन गराउने शर्तनामा गरेको अस्पतालका खरिद शाखाका कर्मचारी रामनाथ सापकोटाले बताए । दुई जना डाक्टरले रिपोर्ट चेक गर्ने गरी जडान हुनुपर्नेमा एउटा मात्र जडान गरेका कारण मेसिन हस्तान्तरण कार्य अलपत्र रहेको हस्पिटल प्रशासनले बताएको छ । 

प्रयोग अवधिलाई सुनिश्चित गराउन वारेन्टी तोक्ने प्रावधान राखिएको हुन्छ । त्यसो गर्दा लगानीको सुरक्षा र उपयोगिताको जोखिम बहन गर्नुपर्दैन भन्ने मान्यता राखिन्छ । र, हस्तान्तरण भएको मितिबाट वारेन्टी अवधि शुरु हुने गर्दछ । रीतपूर्वक हस्तान्तरण नभएका कारण आपूर्तिकर्तालाई भुक्तानीसमेत बाँकी राखिएको छ ।

यति हुँदाहुँदै पनि आपूर्तिकर्ताले जडान भएको मितिबाटै वारेन्टी अवधि लागू गर्न र बाँकी रकम भुक्तानी पाउन शक्तिकेन्द्रको फोन घुमाउने गरेको स्रोतले जानकारी गराएको छ । तर, प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराई स्पेसिफिकेसनबमोजिम सामान जडान नहुँदासम्म भुक्तानी नगरिने बताउँछन् । 

गण्डकी प्रदेशकै ठूलो अस्पताल भएको र सिटी स्क्यान मेसिन नभएका कारण सेवा शुरु गर्नुको विकल्प नरहेको बताइन्छ । यस्तो विषम अवस्थामा आपूर्तिकर्ता कम्पनीले कानुनको बेवास्ता गर्नुले ऊ आफैँ समस्यामा पर्ने देखिन्छ ।  अचम्मको कुरा के छ भने स्वास्थ्यसम्बन्धी ठूला, महँगा र महत्त्वपूर्ण उपकरण वारेन्टी अवधि सकिएलगत्तै बिग्रने रोग लाग्नुलाई सहयोग मान्न गाह्रो छ । मर्मतमा करोडभन्दा बढी खर्च हुने गर्दछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू