हाकिम खाइरहने, ड्राइभर रोइरहने

हाकिम खाइरहने, ड्राइभर रोइरहने
सुन्नुहोस्

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका सवारी चालक सोनाम लामालाई उपचार खर्च अभाव भएको छ । फागुन ५ गते बेलुका ७ बजे हाकिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएर फर्किएका उनी ग्वार्कोस्थित बिएण्डबी अस्पतालअगाडि सवारी दुर्घटनामा परेका थिए । गाडी कार्यालयमा राखेर डेरा फर्किंदै गरेका उनको स्कुटरलाई सेनाको मोटरसाइकलले ठक्कर दिएको थियो । 

सो क्रममा गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर लगियो । उनी अस्पतालबाट फागुन २९ गते डिस्चार्ज भएर डेरा फर्किसकेका छन् । उपचारका निम्ति पैसा नभएपछि उनले आफन्त, साथीभाइसँग ऋण–धन गरेर अस्पतालको बिल तिरेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उनलाई फलोअप उपचारका लागि भोलि पुनः अस्पताल जानुपर्ने छ । तर, खर्च अभावले अप्ठ्यारो परेको बताइन्छ ।

यता, उनलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् । ‘यत्रो दुर्घटना हुँदासमेत अधिकारीले हेरेनन् । उनलाई अहिले खर्च अभाव भएको छ । कार्यालयले अलिअलि सहयोग गर्‍यो । आफन्तसँग सहयोग मागेर उपचार गरिरहेका छन्’, स्रोतले भन्यो । पछिल्लो आठ वर्षमा १५ जना चालक फेरेर १६ औंलाई चार वर्षदेखि काममा लगाएका अधिकारीमा अलिकति पनि माया–दया नभएको भनी हाल प्राधिकरणभित्र चर्को आलोचना भइरहेको छ । 

घाम, पानी, जाडो, गर्मी, रात–बिहान नभनी गोप्य स्थानमा समेत पुर्‍याउने चालक अस्पतालको बेडमा छट्पटाउँदासमेत प्रदीपले फर्किएर हेरेनन् । स्रोतका अनुसार अधिकारी सोही रातिको उडानमा सिंगापुर जाँदै थिए । आफ्नो पदीय मर्यादाअनुकूलको कार्यक्रम नभए पनि सिंगापुर एयरलाइन्सको उडानमा एयर शो हेर्न त्यता गएका हाकिमलाई पुर्‍याएर फर्किने क्रममा लामा दुर्घटनामा परेका हुन् । लामाले अधिकारीको कार्यालयको आधा दर्जन गाडी ०७६ सालदेखि चलाउँदै आएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू