मन्त्रिपरिषद् २३ सदस्यीय, दीपक कार्की राज्यमन्त्री

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री पदमा नियुक्त गरेपछि मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

धनुषा १ बाट निर्वाचित कार्कीलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले राज्यमन्त्रीमा नियुक्त गरी वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको कार्यभार तोकिएको छ । उहाँलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पद तथा गोपनियताको शपथ गराइसक्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मिति २०७९ पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा माननीय दीपक कार्कीलाई राज्यमन्त्री पदमा नियुक्त गरी वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।’

कार्की जसपाबाट राज्यमन्त्री बनेका हुन् । सो पार्टीका नेता नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषद् पुर्नगठन गरिएको थियो । नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी सामेल छन् ।

टिप्पणीहरू