अवकाशप्राप्त सचिवलाई प्रधानमन्त्रीको दोसल्ला, पुँजीगत खर्च नभएकोप्रति चासो
सचिव पदबाट सेवा निवृत्तभएका एक दर्जन कर्मचारीको आज बिदाइ गरिएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षमा सेवा निवृत्त हुनुभएका १२ जना सचिवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
अवकाशप्राप्त सचिवहरु यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ र केवलप्रसाद भण्डारीलगायत हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ ।
त्यसअघि सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने वचन दिनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानूनबमोजिम काम गर्न डराउनु पर्दैन । असल नियतले काम गरेको विषयमा निर्दोषलाई कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’
जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले व्यहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।
तेस्रो त्रैमासिकको अन्त्यसम्म आइपुग्दा पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नुमा दुःखेसो पोख्नुभएको हो ।
टिप्पणीहरू