मधेसका सभामुख महामूर्ख घोषित्

मधेसका सभामुख महामूर्ख घोषित्

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् । 

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ । 

त्यस्तै, मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले पटमूर्खको उपाधि पाएका छन् भने मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर र गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्खको पदवी दिइयो । 

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, इञ्जिनियर सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख र पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरिएको छ ।

त्यस्तै, मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ । 

महामूर्खको उपाधी पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखिएको थियो ।

टिप्पणीहरू