श्रीमानसँगै अमेरिका गएकी शिक्षिकालाई सातदिने पूर्जी

श्रीमानसँगै अमेरिका गएकी शिक्षिकालाई सातदिने पूर्जी
सुन्नुहोस्

काठमाडौंको रामशाहपथस्थित पद्योदय माध्यमिक विद्यालयका शिक्षिका सचिता थापालाई स्पष्टीकरण सोधिएको छ । बिदा स्वीकृत नगराई लामो समयदेखि गैरहाजिर रहेकी उनलाई विद्यालयका प्रधानाध्यापकले सात दिनभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएका हुन् । 

स्पष्टिकरण पत्रमा १४ महिनादेखि सम्पर्कविहीन रहेकी थापालाई सेवाबाट हटाउनु नपर्ने भए कारणसहित उपस्थित हुन भनिएको छ । निमावि शिक्षक तृतीय श्रेणीको स्थायी शिक्षिका उनी २०७९ माघ ११ गतेदेखि बिना जानकारी गैरहाजिर छिन् । 

यसअघि दुईपटक सूचना जारी गर्दापनि उनी सम्पर्कमा नआएको विद्यालयले जनाएको छ । उनी श्रीमानको अस्थायी आवासीय भिसामा अमेरिका गएको सूचना प्राप्त भएको विद्यालयद्धारा आज जारी सूचनामा उल्लेख छ । 

'यस विद्यालयको निमावि तृतीय श्रेणीकी स्थायी शिक्षक श्री सचिता थापा मिति २०७९–१०–११ गतेदेखि बिना सूचना विद्यालयमा अनुपस्थित भई श्रीमानको अस्थायी आवासीय भिसामा अमेरिका प्रस्थान गरेको भन्ने सूचना प्राप्त भएकाले नियमानुसार सेवाबाट अवकाश गर्नुपर्ने, नपर्ने कारणसहित तेस्रोपटक प्रकाशित यो सूचनाका मितिले सात दिनभित्र विद्यालयमा हाजिर हुन आउनुहुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
 

टिप्पणीहरू