निर्जन टापुमा एक युवतीको निम्ति घोर लडाइँ
अनाताहान प्रशान्त महासागरस्थित मारियाना द्वीपसमूह अन्तर्गतको एउटा टापु हो, जुन अण्डा आकारको छ, लम्बाइ मात्र ९ किमि र चौडाइ ४ किमी । यो सन् १५४३ मा स्पेनिश नाविक बर्नान्दो डेला टोरेले फेला पारेका थिए । त्यसबेला त्यहाँ कुनै मानवको बसोबास थिएन । स्पेनले यो टापु जर्मनीलाई बेच्यो सन् १८९९ मा । सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भएपछि टापु जापानी नियन्त्रणमा गयो । जापानमा जमीनको कमी थियो, त्यसैले त्यहाँको सरकारले सन् १९३९ मा एउटा नीति ल्यायो नागरिकका निम्ति कि आसपासका टापुमा गएर खेतीपाती गरी बस्नु । यसरी जापान छाडेर जाने नागरिकलाई विशेष छूट दिइयो । त्यहाँ पुगेका उनीहरूले नरिवल र अन्नबाली उत्पादन गर्न थाले । र, विभिन्न टापुमा हुने उत्पादनको रेखदेख र व्यवस्थापनको लागि सरकारले कम्पनी खडा गर्यो– नान्याङ सिङ्फा ।
अनाताहान जानेमा एक जना थिइन् काजुको फुरिको । सन् १९३९ मा त्यता पुगेकी १६ वर्षीया काजुको ओकिनावा निवासी थिइन् । निकै सुन्दर भएकीले अधिकांश युवक उनलाई पाउन लालायित थिए । तर, उनले भने कम्पनीका सुपरभाइजर सोइची हिगालाई जीवन साथी बनाउने सोचिन् र नजिकिन थालिन् । १८ वर्षका सोइची पनि कम आकर्षक थिएनन् । काजुकोको सकारात्मक प्रतिक्रियापश्चात् बिहे गरे । र, तिनले नरिवल खेतीको सुपरभिजन गर्न थाले । सोइचीका हाकिम मासामी हिनोसिबे पनि काजुकोलाई मनपराउँथे । सोइची हाकिमको नियत थाहा पाए पनि केही भन्न सक्ने स्थितिमा थिएनन् ।
सन् २०३९ मै विश्वयुद्ध शुरु भएर जापान सामेल भए पनि यी टापुहरूको अवस्था शान्त थियो । किनभने अमेरिका युद्धमा थिएन । तर, जापानले अचानक अमेरिकी सैन्य अखाडा पर्ल हार्बरमा आक्रमण गरेर अमेरिकालाई लल्कार्यो । अमेरिका युद्धमा प्रत्यक्ष सक्रिय भएपछि जापानद्वारा अधिनस्थ टापुमा खतरा बढ्यो । खेतीपातीमा संलग्न जापानीहरू सम्भावित अमेरिकी आक्रमणबाट ज्यान जोगाउने भन्दै आफ्नै मुलुकतर्फ भागे । अब टापुमा काजुको, सोइची र मासामी मात्र बाँकी रहे । सोइचीकी बहिनी साइपानमा थिइन् । साइपान मारियाना द्विप समूहको सबैभन्दा ठूलो टापु हो, जापानकै अधिनमा थियो । उनले बहिनी बिरामी भएको थाहा पाए । अनाताहानमा भन्दा साइपानमा अमेरिकी आक्रमणको खतरा बढी थियो । उनी बहिनीलाई अनाताहानमै ल्याउने उद्देश्यले साइपानतर्फ रवाना भए । पत्नीलाई बहिनीसहित फर्कने आश्वासन दिएर । अब टापुमा मात्र दुई जना बचे । टापुमा नरिवलको भण्डारसहित फलफूल र अनाज पनि थियो । दुईजना ती चिजबिज खाएर जीवनयापन गरी बसे । अनकण्टार र निर्जन टापुमा खाने, बस्ने र रमाउने क्रममै काजुको र मासामीबीच सम्बन्ध बन्यो । दुबै अब पतिपत्नीसरह रहन थाले ।
सन् १९४४ को जुनमा अमेरिकी लडाकू विमान ‘बी २९’ ले प्रशान्त महासागरमा रेकी गरिरहेको जापानी जहाजमा आक्रमण गर्यो । थुप्रै जापानी सैनिक मारिए तर तीमध्येका ३१ जना सैनिक ज्यान बचाएर समुद्रमा पौडी खेल्दै अनाताहान टापु पुगे । सबै जना युवा थिए । कान्छो १६ वर्षको र अन्य २०/२२/२४ वर्षका । उनीहरूले त्यहाँ कोही मानिस देखेनन् । ९ किमी लामो र ४ किमी चौडा टापुमा यताउता जंगलको फल खाँदै गुजारा चलाउन थाले । एक साँझ उनीहरूको जम्काभेट काजुको र मासामीसित भयो । निर्जन जंगलमा एक युवती र पुरुषलाई देखेर छक्क परे । मासामीले पनि उनीहरू आफूहरू जस्तै जापानी भएको थाहा पाइहाले । सैनिकहरू ती युवा जोडी जापानी नै भएको थाहा पाएर प्रसन्न भए । मासामी र काजुकोले सबैसित अंकमाल गरेर खुशी साटासाट गरे । दुई जना मिलेर सैनिकहरूलाई सहयोग गरे । आफ्नो भण्डारमा भएको अनाज दिए, फलफूल पाइने जंगल देखाइदिए । समुद्रमा माछा मार्ने कला सिकाइदिए । सबैजना एउटै देशका नागरिक भएकाले चाँडै घुलमिल भए । उनीहरूमा राम्रो मित्रता कायम भयो ।
टापुभरि ३२ पुरुष र मात्र १ महिला थिए । समय बित्दै जाने क्रममा पौडी खेलेर ज्यान बचाउँदै टापुमा पुगेका सैनिक जवानमा काजुकोप्रति आकर्षण पैदा हुन थाल्यो । उनीहरू सबै तन्नेरी थिए । पत्नी र छोराछोरी घरमै छाडेर युद्ध मैदानमा होमिएका थिए । परिवारसँगको लामो बिछोड र जवान काजुकोलाई देखेपछि सबैमा यौनतृष्णा जागृत भयो । यसबीच फेरि उनीहरूले काजुको र मासामी लोग्ने स्वास्नी नभएको र काजुकोका लोग्ने बहिनी लिन भनी साइपानतर्फ लागेको तर लामो समय बितिसक्दा पनि फर्केर नआएको कुरो थाहा पाए । युद्ध चर्किसकेकोले पनि सोइची फर्केर आउन नसक्ने अनुमान गरे । सैनिकहरु काजुकोलाई मन पराउँथे र शारीरिक सम्बन्ध बनाउन उद्यत थिए । काजुको पनि सबैलाई मायालु व्यवहार गर्थिन् । आफैँ नजिकिन जान्थिन् । फलामे अनुशासनमा बसेकाले होला, सैनिक जवान आफूलाई नियन्त्रण गरी बसेका थिए । एकदिन सबै मिलेर दुबैलाई सम्झाए कि तिमीहरू लोग्ने स्वास्नी होइनौ तर लोग्ने स्वास्नीसरह बसेका छौ । हामी काजुकोप्रति गिद्धे आँखा लगाउन चाहन्नौं । राम्रो हुन्छ, तिमीहरू औपचारिक तवरमै बिहे गरी घरजम गर । काजुको र मासामीले सल्लाह गरे । मासामीले बिहेको नाटक गरेर भए पनि लोग्ने–स्वास्नी बनौं ताकि तिमीमाथि उनीहरूको नियत खराब हुन नापाओस् भन्ने प्रस्ताव राखे । काजुकोको मञ्जुरीपछि ३१ जना जवानलाई साक्षी राखेर बिहे गरे ।
यो समस्या सल्टेपछि सबैको जीवन सहज बन्यो । समयको अन्तरालसँगै सन् १९४६ को अगस्तमा एउटा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त भएर सोही टापुमा खस्यो । ३१ सैनिकमध्ये २ जना समुद्री किनारमा घुम्दै गर्दा दुर्घटनाग्रस्त विमान देखे । छरपष्ट विमानको टुक्राटाक्रीको थुप्रोमा दुइटा बन्दुक भेट्टाए । साथै ९० वटा गोली पनि । दुवै जनाले एउटा–एउटा बन्दुक बोके र गोली बाँडे । हतियार भित्रिएपछि शान्त टापु अशान्त बन्न शुरु भयो । काजुको र मासामीबीच बिहे गराइदिए पनि अझै ३१ जना सैनिकको मनमा काजुको प्रतिको लगाव हटिसकेको थिएन । जोसँग बन्दुक छ, उसले आफूलाई राजा नै ठान्न थाल्यो । र, बन्दुक बोकेर एकजना सिधै काजुकोमा पुग्यो । अनि काजुकोलाई बन्दुक देखाउँदै आफ्नो प्रेमिका नबने मासामीलाई मार्ने धम्की दियो । मासामीले आफू मर्न नचाहेकोले उनको प्रेमिका बन्न जान काजुकोलाई भने । काजुकोले पनि सहमति जनाइन् र ती सैनिकको प्रेमिका बन्न पुगिन् । केही दिनपछि अर्को बन्दुकधारी पनि त्यहाँ पुग्योे । र, काजुकोलाई अहिलेको प्रेमीलाई छाडेर आफ्नो प्रेमिका बन्न धम्क्यायो । काजुकोको प्रेमीले पनि मासामीले जस्तै काजुकोलाई अर्कोको प्रेमिका बन्न दियो ।
तर कुरो त्यत्तिमै सकिएन । एकदिन काजुकोको कुरोलाई लिएर बन्दुक भिरेका दुवैजना एकापसमा भिडे । एकजनाको ज्यान गयो । दुई दिनपछि ३ जना र अर्को दिन २ जनाको ज्यान गयो । मारिने सबै काजुकोका आशिक थिए । भकाभक ज्यान जान थालेपछि एकदिन उनीहरू बैठक बसे र बन्दुककै कारण टापुमा अशान्ति मच्चिन थालेकाले बन्दुकलाई समुद्रमा फ्याँक्ने निर्णय गरे । जोसित बन्दुक थियो, ऊ पनि राजी भयो । दुइटै बन्दुक फ्याँकियो । टापुमा पुनः शान्ति छायो । बाहिर दोश्रो विश्वयुद्ध समाप्त भइसकेको थियो तर उनीहरूलाई यो कुरो थाहा नै थिएन । टापुबाट बाहिर गएपछि अमेरिकी सैनिकहरूले मार्छन् भन्ने डर पालेर त्यतै बसिरहे ।
बन्दुक समुद्रमा फ्याँकेपछि छाएको शान्ति पुनः काजुकोकै कारण खल्बलिन शुरु भयो । काजुकोप्रतिको लगाव सबैमा फेरि बढ्न थाल्यो । एकएक गरी मासामी लगायत ११ जनाको हत्या भयो । फेरि बैठक डाकियो । एउटी युवतीलाई लिएर आपसमा मारकाट हुन थालेकोमा सबै सहमत थिए । काजुको रहेसम्म यो हत्याको सिलसिला नरोकिनेमा सबैको एउटै राय थियो किनभने कोही एक जना पनि काजुकोलाई छाड्न तयारै थिएनन् । अन्त्यमा, काजुकोलाई मारेर टापुमा शान्ति ल्याउने कुरोमा सबैले सहमति जनाए । तर, बैठकमै सहभागी एक जना सैनिक काजुकोलाई अरुले भन्दा बढी अपार माया गर्थे । उनले समूहप्रति गद्दारी गरे । खुसुक्क गएर बैठकको निर्णय काजुकोलाई सुनाइदिए । यो पनि सुनाए कि सम्भवतः भोलि बिहानसम्ममा तिम्रो हत्या गरिनेछ । यो कुरो सुनेर काजुकोको होसहवास उड्यो । राति नै जंगलतर्फ भागिन् । युद्ध सकिए पनि अमेरिकी सेनाले रेकी गर्न छाडेका थिएनन् । समुद्री किनारमा पुगेर काजुकोले लुगा फुकाली त्यसलाई हावामा लहराउँदै सहयोग माग्न थालिन् । एउटा अमेरिकी जहाज निर्जन टापुमा एउटी युवतीलाई देखेर नजिक पुग्यो । समूहबाट भागेको ३३ दिनपछि काजुकोको उद्दार भयो । उनी जापान पुगिन् ।
जापान पुगेर उनले सबै बृत्तान्त सुनाइन् । यो पनि सुनाइन् कि त्यहाँ अझै १९ जापानी सैनिक ज्युँदै छन् । जापान सरकारले सैनिकको परिवारलाई पत्र लेख्न लगायो र विमानबाट पत्र छर्न लगाइयो । त्यहाँ रहेका सैनिक अझै यसलाई अमेरिकाको षड्यन्त्र मानिरहेका थिए । तेस्रो पटक पत्र छर्दा एक जना सैनिकले यो लेखाइ आफ्नै पत्नीको भएको दाबी गरे । बल्ल सबै सहमत भए अनि समुद्री किनारमा गएर सेतो कपडा हल्लाउन थाले । अमेरिकी जहाजले उनीहरूलाई देखेर उद्धार गर्यो । पहिला अमेरिका नै लगियो अनि २६ जुन १९५१ मा जापान पुर्याइयो । अर्थात यी सैनिक अनाताहान टापुमा ७ वर्ष बसे । सबैको परिवारसँग पुनर्मिलन भयो । उता, काजुकोले जापान पुगेपछि सोइचीलाई खोजिन् । सोइचीले अमेरिकी हमलामा काजुकोको मृत्यु भइसकेको होला भन्ठानी अर्को बिहे गरिसकेका थिए । काजुकोले आफ्नो कथा मिडियामार्फत सार्वजनिक गरिन् । उनको जीवनमा आधारित भएर धेरैले पुस्तक लेखे, सिनेमा बनाए । यी पुस्तक र सिनेमाबाट उनले अकुत पैसा कमाइन् । ४० वर्षको उमेरमा बिहे गरिन् । र, सन् १९७३ मा ब्रेनट्युमरबाट निधन हुँदा ५० वर्षकी थिइन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू