हर्क साम्पाङले दिए गृहमन्त्रीलाई निम्तो, अर्थमन्त्रीसँग पाँच अर्ब माग

हर्क साम्पाङले दिए गृहमन्त्रीलाई निम्तो, अर्थमन्त्रीसँग पाँच अर्ब माग
सुन्नुहोस्

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सामाजिक सञ्जालमा एक-अर्काको खरो आलोचना गर्ने यी दुइले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटघाट गरेका हुन् । 

भेटमा मेयर साम्पाङले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि हरेक शुक्रबार आफूले चलाइरहेको 'सुधारबार' अभियानमा सामेल भइदिन निम्ता दिएकोमा गृहमन्त्री लामिछानेले 'हुन्छ' भनेको बताइएको छ । त्यस्तै, मेयर सम्पाङले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि पनि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छन् । 

धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत-साधन व्यवस्था गरिदन उनले मन्त्रीसँग माग राखेको बुझिएको छ । 

सामाजिक सञ्जालमा 'अन्टसन्ट' लेखेर चर्चासँगै विवादमा पर्ने गरेका मेयर साम्पाङ लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको कटू आलोचक हुन् । रास्वपालाई उनले कुनै राजनीतिक आधार नभएको समूह भनी कटाक्ष गर्ने गरेका छन् । त्यस्तै, पहिचान र संघीयताविरोधी पार्टी भन्दै रास्वपामाथि खनिने उनी बेलाबखत लामिछानेका राजनीतिक गतिविधिविरुद्ध पनि कडा टिप्पणी गर्ने गर्छन् । 

इलाम-२ को उपचुनावको सन्दर्भमा पनि हर्कले रास्वपामाथि कटाक्ष गरिरहेका छन् । शुरुमा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका मिलन लिम्बूको पक्षमा उनले प्रचार थालिसकेका थिए । तर, मिलनलाई रास्वपाले उम्मेदवार बनाएपछि हर्कले पहिचानवादी समूहका डकेन्द्रसिंह लिम्बूको समर्थनमा छन् । 

मेयर साम्पाङले आजै अर्थमन्त्ती वर्षमान पुनसँग पनि भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा उनले सप्तकोशी नदीबाट लिफ्टिङ गरी धरानसम्म पानी ल्याउन सकिने योजनाबारे जानकारी गराए । उक्त योजनालाई सम्पन्न गर्न करिब ५ अर्ब बजेट लाग्ने भन्दै उनले सहयोगका लागि मन्त्री पुनको धानाकर्षण गराएको बताइएको छ ।

टिप्पणीहरू