दम्पतीको पार्टीमा बिहान कुटाकुट, दिउँसो प्रेस मिट

दम्पतीको पार्टीमा बिहान कुटाकुट, दिउँसो प्रेस मिट
सुन्नुहोस्

पार्टी कार्यालयभित्रै कार्यकर्ताबीच कुटाकुट भएको घटना बाहिरिएपछि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

पार्टीले आगामी शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको जानकारी दिएको छ । बैठकमा पार्टी पदाधिकारी एवम् सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिएको बताइएको छ ।

आज बिहान अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीका कार्यकर्ताले अध्यक्ष रञ्जिता श्रेष्ठका कार्यकर्तामाथि कुटपिट गरेका थिए । कुटपिटमा रन्जिता पक्षका नेताहरु रमेश विक र रामलाल गौडेललाई सामान्य चोट लागेको बताइन्छ । 

कुटपिटपछि रमेश विकले दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका छन् । उनले आफूलाई रेक्षम पक्षका कार्यकर्ताहरुले कार्यालयको ढोका थुनेर कुटेको बताए । अगाडि भनेका छन्, ‘मलाई पार्टी कार्यालयभित्रै आक्रमण गरे । मेरो छेउमा लालवीरजी र बलवीरजी बस्नुभएको थियो त्यसैले उहाँहरूले जोगाउनुभयो । बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन् ।’

आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेमा संरक्षक चौधरीले बालुवाटार बाहिरै कुट्ने धम्की दिएको पनि उनले बताए । ‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो । बालुवाटार गएमा तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर धम्क्याएपछि हामीले विरोध गरेका थियौं,’ उनले भने ।

यता संरक्षक चौधरीले विकका सबै कुरा झुठो भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै रञ्जिता पक्षले जसरी पनि आफूलाई फेरि जेल हाल्ने योजना बनाएको उल्लेख गरेका छन् ।

 

चौधरीले लेखेका छन्, ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौं । अनावश्यक हो (हल्लाको पछि नलागौँ ।’ 

चौधरीले आगामी बैठकले गर्ने निर्णय नै अन्तिम हुने बताएका छन् ।

टिप्पणीहरू