हरहर होली– घरघर ओली भन्दा पनि...
‘हरहर ओली– घरघर ओली’ शीर्षकको कविता वाचन गर्दै एमाले केन्द्रीयदेखि पोलिटब्युरो बैठक र हरेकजसो कार्यक्रममा प्रस्तुत हुने पूर्वमन्त्री ज्वालाकुमारी साह आफ्नै पार्टीभित्र उम्मेदवार सिफारिस गर्ने चुनावमा पराजित भएकी छन् । उनीसँगै अध्यक्ष ओली खेमाबाट जिल्ला अध्यक्षमा लडेकी टिना सुवेदीलाई पनि कमरेडहरुले शून्य मत दिएका छन् ।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं.३ बाट लड्न इच्छुक साह र सुवेदीको पक्षमा एमालेकै जिल्ला कमिटी, नगर कमिटी र गाउँ वार्ड कमिटीका पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरू देखिएनन् । गत शनिबार १९ गते ४६ जना मतदातामध्ये उम्मेदवार सिफारिस गर्न भएको मतदानमा साहले ४ मत र सुवेदीले शून्य मत प्राप्त गरिन् । पार्टीभित्रै कम मत प्राप्त गरेपछि साहले षड्यन्त्र भएको, आफूले निर्वाचन बहिष्कार गरेको बताएकी छन् ।
एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न आयोजित क्षेत्रीय भेलामा सर्वसम्मत निर्णय हुन नसकेपछि चुनाव भएको थियो । बारा जिल्ला इञ्चार्जसमेत रहेकी साह आफ्नो नाम सर्वसम्मत सिफारिस हुने कुरामा ढुक्क थिइन् तर उनीसहित ७ जनाले उम्मेदवारी नछोडेपछि चुनावमा जाने निर्णय भएको थियो । यसअघि उनका श्रीमान् अमृतकुमार उर्फ सिर्जन बजगाइँले पनि बारा जिल्ला कमिटीको सचिवमा पराजय भोगेका थिए ।
४६ जना मतदाता भएको निर्वाचन क्षेत्र नम्बर ३ को चुनावमा पार्टी अध्यक्ष अध्यानन्द पाण्डेले सतप्रतिशत मत प्राप्त गरी पहिलो नम्बरमा सिफारिस भए भने दोस्रो नम्बरमा मोहम्मद समिउल्लाहले ३७ र तेस्रो नम्बरमा सीमा ठकुरीले ३६ मत ल्याइन् । निवर्तमान मन्त्री ज्वालाकुमारी साहले ४ मत, पूर्व पोलिटव्यूरो सदस्य अच्युत मैनालीकी श्रीमती टिना सुवेदीले शून्य, सीता सुवेदीले १ र गायत्रीदेवी साहले ५ मत प्राप्त गरेका थिए । दोस्रो मत ल्याई सिफारिस भएका समिल्लाह बारा नगर कमिटीका अध्यक्ष हुन् । यसैगरी महिलातर्फ सबैभन्दा बढी मत ल्याई सिफारिस हुने ठकुरी बारा जिल्ला कमिटीकी सदस्य हुन् । टीना जिल्ला अध्यक्षमा पराजित भएकी थिइन् ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू