उपमेयर पालिकाविरुद्ध, विद्यार्थीका अभिभावक अलमलमा
सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद थप चर्किएको छ । पत्रकार सम्मेलन गरेर एकअर्काविरुद्ध दोषारोपण गर्ने क्रम चलिरहँदा उपमहानगरको निर्णयविरुद्ध उपमेयरसहित नेकपा एमालेका जनप्रतिनिधिहरु खुलेरै लागेका छन् ।
शैक्षिक सुधारका लागि उपमहानगरले गरेको निर्णयको सार्वजनिक रुपमा जनप्रतिनिधिहरुले विरोध गरिरहेका छन् । उपमहानगरको शिक्षा समितिले गत माघमा आफ्नो नगर क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय गरेको थियो । १३४ वटा निजी र १७० वटा सामुदायिक विद्यालयको पोशाक एउटै गर्न लागिएको निर्णयविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालत, विराटनगरमा रिट दायर गरेको थियो ।
प्याब्सनले दायर गरेको मुद्दामा उक्त निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरिएको थियो । तर, उच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै सो निर्णय कार्यान्वयनको बाटो खुलेको हो । जति नै विरोध गरेपनि उक्त निर्णय कार्यान्वयनमा आउने मेयर हेमकर्ण पौडेलले बताए ।
निजी विद्यालयका सञ्चालकहरुले अहिलेपनि विरोध प्रदर्शन गरिरहेको उनको भनाइ छ । मेयरका अनुसार ड्रेस कोडलाई लिएर राजनीतिक चलखेल भएको छ । अदालतले बाटो खोलिदिएपनि उपमेयर संगीताकुमारी चौधरीसहित एमालेका वडाध्यक्षहरु सो निर्णय कार्यान्वयनका लागि तयार देखिँदैनन् ।
उपमेयर चौधरीले आफूहरुसँग छलफल नगरी ड्रेस कोडको निर्णय गरेको दाबी गर्दै आएकी छन् । शैक्षिक क्षेत्रमा द्वन्द्व सिर्जना गर्नेगरी निजी विद्यालयका सञ्चालकहरुलाई भड्काउन थालिएको स्रोतको भनाइ छ । उनले सार्वजनिक रुपमै पालिकाको निर्णयको विरोध गर्न थालेको बताइन्छ।
‘आफू पानीमाथिको ओभानो बनेर उनले निजी विद्यालयका सञ्चालकहरुलाई उचाल्दै आएकी थिइन् । अहिले उनी खुलेरै पालिकाको निर्णयको विरोधमा उत्रिएकी छिन् । एमालेको वडाध्यक्षहरु पनि यो निर्णय कार्यान्वयन गर्न नदिने अडानमा छन् । नयाँ शैक्षिक सत्र शुरु हुन अब केही समय मात्र बाँकी रहँदा ड्रेस कोडलाई लिएर विवाद सिर्जना भएको छ । यसले विद्यार्थीको पढाइमा हानी पुग्ने देखिएको छ’, स्रोतले भन्यो ।
उपमेयर आफैं निजी विद्यालयको सञ्चालक भएकाले पनि उनले निर्णयको विरोध गरेको हुनसक्ने एकथरीको आकलन छ । आफैं उपमेयर रहेको पालिकाविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नु उपयुक्त नभएको उनका विरोधीहरु बताउँछन् ।
यता, उपमेयरका कारण समग्र शैक्षिक क्षेत्र नै अन्यौलमा र विद्यार्थीको भविष्य अनिश्चिततातर्फ धकेलिएको छ । उपमहानगरको निर्णय मान्ने कि उपमेयरको अपिल भन्दै निजी विद्यालयका सञ्चालकहरु बिलखबन्दमा परेको अवस्था छ । ईटहरीका मेयर पौडेल नेपाली काँग्रेस र उपमेयर चौधरी एमालेबाट निर्वाचित हुन् ।
टिप्पणीहरू