एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण विजयी, मत परिणाम सार्वजनिक गरिएन

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण विजयी, मत परिणाम सार्वजनिक गरिएन

नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा होम नारायण श्रेष्ठ विजयी भएका छन् । दशौं जिल्ला अधिवेशनबाट हालका अध्यक्ष कमल नेपाललाई पछि पार्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

 त्यस्तै, उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्ण गोपाल तामाङ्ग र उपसचिवमा शिवहरी सापकोटा निर्वाचित भएका छन् । उपाध्यक्ष जितेका भण्डारीले विष्णुमणि आचार्यलाई पराजित गरे । महिला उपसचिवमा शोभा कार्कीलाई हराउँदै सुशिला पाख्रिन विजयी भएकी छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेपाल र श्रेष्ठले अलग-अलग प्यानल बनाएर मैदानमा होमिएका थिए । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव, उपसचिवलगायत अधिकांश पदाधिकारी र सदस्यमा नेपाल खेमाका उम्मेदवार विजयी भएका छन् ।

कूल ७४७ प्रतिनिधि रहेको एमाले सिन्धुपाल्चोकको अधिवेशनअन्तर्गतको निर्वाचनमा ७१३ मत खसेको निर्वाचन कमिटीले जनाएको छ ।

सञ्चारकर्मीलाई मतगणना स्थलमा निषेध 

चौताराको आहालडाँडामा मतदान सकाएर गणनाका लागि जिल्ला पार्टी कार्यालयमा ढवाङ्ग बोकेर आएका प्रतिनिधिले मतगणना स्थलमा प्रवेश निषेध गरेका थिए । सञ्चारकर्मीलाई समेत निषेध गरिँदा मत परिणामबारे सबै अनविज्ञ रहे । 

हिजो साँझ ७ बजेबाट मतगणना थालेपनि खास परिणाम अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । यता, निर्वाचन कमिटीका जिम्मेवार पदाधिकारीहरु फोन नै नउठाईकन बसेका छन् । एमालेजस्तो जिम्मेवार पार्टीले नै यस्तो गैरजिम्मेवार कार्य गरेपछि सिन्धुपाल्चोकका सञ्चारकर्मी अचम्ममा परेका छन् ।

टिप्पणीहरू