नेतामा ‘माला मोह’, कार्यकर्तामा चाकडी
पछिल्लो समय राजनीतिक दलका नेताहरुमा ‘माला मोह’ देखिएको छ । धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रवृत्ति केही वर्षयता नेपाली राजनीतिमा हाबी हुँदै गएको छ । कतिपयले यसलाई नेताहरुको चर्तिकला समेत भनेका छन् ।
चैत ८ गते धनुषाको जनकपुरधाम पुगेका नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई एक सय एक किलोको माला लगाइयो । एमाले सचिवसमेत रहेका उनी मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुग्दा पार्टीको जनकपुरधाम उपमहानगर कमिटीले उक्त मालासहित स्वागत गरेको थियो ।
त्यसअघि गत फागुन २० गते जनकपुरधाम पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पनि त्यसरी नै स्वागत गरिएको थियो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा अतिथि बन्न उनी त्यहाँ पुगेका थिए ।
उनलाई जनकपुर विमानस्थलमै सयौंको संख्यामा रहेका एमाले कार्यकर्ताले दुई सय किलोको माला लगाइदिएका हुन् । यद्यपि, उक्त माला अध्यक्ष ओलीको लागि तयार पारिएको थियो । अध्यक्षको कार्यक्रम स्थगित भएपछि कार्यकर्ताहरुले उपाध्यक्ष पौडेललाई सोही माला लगाइदिएका हुन् ।
नेताहरुले सार्वजनिक मञ्च, कार्यक्रम र उद्घाटनमा काँधले थाम्नै नसक्ने गरी किलोका किलो माला लगाएको यी घटना पहिलो होइनन् । फेरि अन्तिम पनि पक्कै होइन । केहीअघि रौतहट पुगेका एमाले अध्यक्ष ओलीलाई एक सय एक किलोको माला पहिर्याइएको थियो । जिल्ला कमिटीको दशौं अधिवेशन उद्घाटनमा गएका उनलाई कार्यकर्ताहरुले मालाले स्वागत गरेका हुन् ।
कसले कति किलोको माला लगाए ?
२०७९ असार ३१ गते तत्कालीन कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले सप्तरीमा एक सय एक किलोको माला लगाए । मन्त्री भएपछि पहिलो पटक गृहनगर पुगेका उनलाई बोदेबसाईन नगरपालिकाले लाखौं खर्चिएर मालासहित भव्य स्वागत गरेको थियो ।
२०७८ कात्तिक २ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि पहिलो पटक मन्त्री बनेर गृहजिल्ला रुपन्देही पुग्दा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले ९९ किलोको माला लगाइदिएको थियो । सोही वर्ष पुस ८ गते पार्टी प्रवेश कार्यक्रमका लागि पर्साको जगरनाथपुर गाउँपालिका पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक सय ५१ किलोको माला पहिरिए ।
२०७७ फागुन ९ गते मधेश प्रदेशका नवनियुक्त प्रमुख राजेश झा ‘अहिराज’ लाई एक सय एक किलोको मालाले स्वागत गरियो । २०७५ फागुन ८ गते बाराको सिमरामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि एक सय ५१ किलोको माला लगाएका थिए । पूर्व सांसद अनिल रुंगटाले वीरगञ्जमा खोलेको होटल लड्र्स दियालो उद्घाटन गर्न वीरगञ्ज जाने क्रममा सिमरा पुगेका उनलाई काँग्रेसको जितपुर–सिमरा उपमहानगर समितिले त्यसरी स्वागत गरेको हो ।
सोही वर्षको फागुन ४ गते पर्सामा कोइराला खलकका तीन नेताको काँधमा एकैसाथ एक सय २१ किलोको माला भिराइयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस महामन्त्री शशांक कोइरालासहित नेता शेखर कोइराला र जीपी कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालालाई गह्रौं मालाले सम्मान गरिएको थियो ।
त्यसअघि पुस १ गते रौतहटको विष्णु मन्दिरको शिलान्यासमा गएका तत्कालीन माओवादी नेता प्रभु साहलाई आयोजकले एक सय ५ किलोको माला भिराएका थिए । ०७४ फागुन ८ गते मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतलाई गृहजिल्ला पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघले एक सय ११ किलोको मालाले सम्मान गरेको थियो ।
त्यो भन्दाअघि २०७३ माघ २९ गते रौतहटको जिगडवामा आयोजित कवि सम्मेलनमा भाग लिन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि एक सय २५ किलोको मालाले स्वागत गरिएको थियो ।
त्यसको पाँच वर्षपछि ०७८ मंसिर ४ गते पार्टी प्रवेश कार्यक्रमका लागि रौटहट पुगेका उनलाई कार्यकर्ताहरुले पुनः ५१ किलोको माला थमाइदिएका हुन् । २०७३ असोज १३ गते काँग्रेसका नेता एवम् तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापाले ५१ किलोको माला लगाएका थिए ।
२०७० मंसिर २८ गते नेपाल व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्न सुर्खेत गएका तत्कालीन राष्ट्रपति रामवरण यादवलाई २१ किलोको मालाले स्वागत गरिएको थियो ।
यसबाहेक पनि राजनीतिक दलका कैयौं नेता तथा महत्वपूर्ण ओहोदामा बसेका व्यक्तिले काँधले धान्न नसक्ने माला लगाउने संस्कृतिको वाहक बनेका छन् । यस्तो गलत संस्कृतिको जनस्तरबाट विरोध भएपनि राजनीतिक नेतृत्वले भने स्वीकारेको देखिन्छ ।
भारतीय प्रधानमन्त्रीलाई पनि सयौं किलोको माला
नेपालमा जस्तौ त्यस्तो सौभाग्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पाएका छन् । २०७५ वैशाख २८ गते तत्कालीन प्रदेश नम्बर २ अर्थात् हाल मधेशको जनकपुरमा उनले तीन सय ६३ किलो बराबरका तीन वटा माला लगाएका थिए ।
प्रदेश सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकुपर उद्योग वाणिज्य संघले क्रमशः एक सय २१ किलोका तीन वटा मालाले उनको सम्मान गरेको थियो ।
जति बुँदे माग, त्यति नै किलोको माला
गत मंसिर २२ गते कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलाली उद्योग वाणिज्य संघले १० बुँदे माग सुनाउँदै १० किलोको माला लगाइदियो । संघले ०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । सो क्रममा हरेक वर्ष प्रधानमन्त्री वा अन्य नेतालाई आमन्त्रण गरेर मागका बुँदा जति छन् त्यति नै किलोको माला लगाइदिने परम्परा बनाइएको छ ।
गत वर्षको मंसिर २२ गते पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई संघले १५ बुँदे मागसहित १५ किलोको माला लगाइदिएको थियो । ०७४ चैत १८ गते तत्कालीन खानेपानीमन्त्री बिना मगरले गृहजिल्ला कञ्चनपुरमा २१ किलोको माला लगाइन् । उनलाई बेलौरी नगरपालिकाले २१ बुँदे मागसहित सो माला लगाइदिएको थियो ।
फूलसँगै लोकतन्त्रको सौन्दर्य ओइलाउँदै
हाम्रो समाजमा फूलको मालालाई सम्मानको रुपमा लिने गरिएको छ । यसलाई खुशी, उत्सव, उल्लास, सौन्दर्य र सम्मानको प्रतीक मानिन्छ । फूलले शोभा र मर्यादा बढाउने भएकाले देवी–देवतालाईसमेत चढाउने परम्परा छ ।
तर, समाज बदल्ने नेताहरुको अस्वाभाविक फूलमाला धारणले फूलको असल सौन्दर्य मात्र छोपिँदै गएको छैन, लोकतन्त्रको नै सौन्दर्य मर्दै गएको बताइन्छ ।
मुलुकमा १० वर्षे जनयुद्धको अन्त्यपछि माओवादी शान्ति प्रक्रियामा आएयता सार्वजनिक कार्यक्रमहरुमा नेताले अनुहार छोपिने गरी वा गलाले थाम्ने नसक्ने गरी माला लगाउने र लगाइदिने प्रवृत्ति बढेको हो ।
अहिले सरकार प्रमुख, वरिष्ठ नेता तथा मन्त्रीसमेतले गलाले थेग्न नसक्ने भारको माला लगाउने चलन व्यापक बन्दै गएको छ । कार्यकर्ताहरुबीच नेताहरुलाई ठूलो र गह्रौं माला लगाइदिने होड नै चलेको छ ।
नेताहरुको माला मोह र कार्यकर्ताको चाकडी प्रवृत्तिका कारण विकृति मौलाउँदै गएको सहजै अनुमान लगाउन सकिन्छ । यस्ता गलत प्रतिस्पर्धाका कारण सामाजिक विचलनहरु निम्तिएको राजनीतिक तथा सामाजिक विश्लेषकहरुको ठम्याई छ ।
गुलामी प्रवृत्ति, अपराधसँगै राजनीति
हाम्रो पार्टी नेपालका अध्यक्ष एवम् राजनीतिज्ञ गोविन्द बोहरा (ब्रम्हाण्ड) क्विण्टल माला लगाइदिएर नेताको चाकडी वा गुलामी गर्ने प्रवृत्ति बढेको बताउँछन् । गह्रौं माला लगाइदिएर नेतालाई खुशी बनाउने, अपराधमा संरक्षण मिल्ने उद्देश्य राखिएकाले यस्ता कार्यबाट अपराधमा राजनीतिकरण बढेको विश्लेषण गरे ।
‘राणाकालमा राजाको जति गुलामी गर्यो, त्यति नै फाइदा लुट्न पाइन्थ्यो । र, अहिले लोकतन्त्र, गणतन्त्रमा नेताको चाकडी गरेर लाभ लिन थालिएको छ । ठूलो माला लगाइदिएर नेतालाई खुशी बनाइन्छ । यसरी नेतालाई मुख्ख पारेपछि जस्तोसुकै अपराधबाट उन्मुक्ति पाइन्छ,’ उनले भने ।
अर्कोतर्फ, यस्तो काम गर्नु तल्लो तहका कार्यकर्ताहरुको बाध्यता रहेको उनको निचोड छ । भने, ‘नेताको चाकडी नगरी तल्लो स्तरका कार्यकर्ताहरु माथि बढ्न पाउँदैनन् । त्यसैले, उनीहरुले यस्तो गर्नैपर्छ ।’
‘म मात्र नेता हुँ भनेर जनतामा भ्रम छर्न पनि नेतृत्व आफैंले यस्तो गर्न लगाउँछन्,’ उनले थपे, ‘तर, जनस्तरबाट त्यस्तो कार्यको विरोध भएपछि स्पष्टीकरण दिने, नगर्ने प्रतिबद्धता जनाउने र फेरि उही कार्य दोहोर्याउने पनि देखिएको छ ।’
टिप्पणीहरू