ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प, कम्तिमा चार जनाको मृत्यु

ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प, कम्तिमा चार जनाको मृत्यु

ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७ः५८ मा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पमा परी अहिलेसम्म चार जनाको मृत्यु भएको ताइवानी अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पमा १३० भन्दा बढी गम्भीर घाइते भएको समाचारमा उल्लेख गरिएको छ । 

अहिलेसम्म क्षतिको पूर्ण विवरण आइसकेको जनाउँदै अधिकारीहरुले मृतक र घाइतेहरुको संख्या बढ्नसक्ने बताएका छन् । भूकम्पको कारण सयौँ घर ध्वस्त भएका छन् भने केही सडकहरु भाँसिएका छन् । 

नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्ने कार्य भइरहेको र धेरै भीडभाड हुने उद्योग-कारखाना, सपिङ मल र विद्यालयहरु खाली गराइएको छ । यस क्षेत्रका विभिन्न ठाउँमा पहिरोसमेत जान थालेको समाचारहरुमा जनाइएको छ । 

ताइवानको पूर्वी तटीय क्षेत्र ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको बिबिसीले जनाएको छ । अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार अहिले पनि उक्त क्षेत्रमा ४ रेक्टर स्केलसम्मका पराकम्पनहरु गइरहेको छ । 

ताइवानमा यसअघि सन् १९९९ को सेप्टेम्बरमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यतिबेला दुई हजार चार सय नागरिकले ज्यान गुमाएका थिए ।
 

टिप्पणीहरू