चोखो सम्बन्ध छिनभरमै छियाछिया
सम्बन्धविच्छेदका लागि अदालत आउने कैयौँ जोडीलाई साथ टुटाउन हुन्न भनेर सम्झाउने जिल्ला अदालत लमजुङका एक कर्मचारीको आफ्नै सम्बन्ध भने दिगो बन्न सकेन । दिनहुुँ सम्बन्धविच्छेदका मुद्दा हेर्दा हेर्दा वाक्क भएका उनै कर्मचारीको वैवाहिक सम्बन्ध अचानक टुट्यो ।
नवलपरासी घर भई लामो समयदेखि लमजुङमा कार्यरत उनको रहँदा बस्दा सदरमुकाम बेंसीशहरकी युवतीसँगै प्रेममा परेर गरेको विवाह एक छोराको जन्मसँगै टुट्न पुग्यो । उदिपुर कालिका मन्दिरमा आगो बालेर भगवानलाई साक्षी राखी अनन्तसम्म सँगै हुने बाचा बन्धन अदालतमा गएर छुट्टियो । जेठी श्रीमतीसँग छुटेको केही समयपछि गरेको मागीविवाहको सहयात्रा पनि वर्षदिन कट्न पाएन । पहिलो श्रीमती खाली हात छुट्टिए पनि कान्छीले भने माना चामलको मागदाबीसहित सम्बन्धविच्छेदको मुद्दा हालसालै दर्ता गरेकी छन् ।
उही बेनपा–१ स्थित कालिका मन्दिरमा सात फन्को लगाएर आफ्नै दिदीको देवरसँग विवाह गरेकी थिइन् शीतल सुनारले । आफन्तले गोडा धोएर विधिवत् गरेको विवाह हप्ता दिन पनि टिकेन । अग्नि साक्षी राखेर खाएको कसम हप्ता दिनमै तोड्दै शीतल काठमाडौँंमा ‘पठाओ’ चलाउने गोर्खाली मगरलाई च्यापेर हिँडिन् । प्रेम विवाह गरेका हुन् वा मागी विवाह, कोही वर्ष दिन नपुग्दै त कोही घरभरि सन्तानको ताँती हुँदा पनि सम्बन्ध टिकाउन सकिएन भन्दै दिनहुुँ विवाह रद्द गर्न आउनेको लर्को देखेर महिना दिनअघि मात्रै जिल्ला अदालतमा हाजिर भएका श्रीमान् कृष्णप्रसाद पौडेल हैरान हुनुभएको छ ।
दैनिक दर्जनजस्तै सम्बन्धविच्छेदका मुद्दाका फाइल दर्ता हुँदै गर्दा कति त कृत्रिम सम्बन्धविच्छेदका छन् । वैदेशिक रोजगारीका लागि वा अध्ययन भनेर युरोप, अमेरिका जानेहरूले पनि सम्बन्धविच्छेद गरेको देखिन्छ । यसरी कृत्रिम रूपमा सम्बन्ध तोडेका कतिले विदेश गइसकेपछि साँच्चिकै लोग्नेलाई छाडेमध्ये निकै चर्चामा रहेकी एक पात्र हुन् मस्र्याङ्दी गाउँपालिकाकी देवी गुरुङ । जिल्ला प्रशासन लमजुङमा कार्यालय सहयोगीको जागिर खाँदै गर्दा आर्थिक हिनामिनामा परेकी गुरुङले जागिरबाट निकालिएपछि सोझा लोग्नेलाई फस्ल्याङफुस्लुङ पारेर सम्बन्धविच्छेद गर्न लगाइन् । सम्बन्धविच्छेद गरेर विदेश हिँडेकी उनी आजसम्म लोग्नेको सम्पर्कमा आएकी छैनन् ।
वर्ष दिनअघि मात्रै मिलन परियारसँग विवाह गरेकी बेनपा–३ की शर्मिला परियारले पतिले नचाहँदा नचाहँदै पनि जिल्ला अदालत लमजुङबाट सम्बन्धविच्छेद गरेको केही दिनपछि अदालती विवाह गरेकी छन् । उनी दोर्दी गाउँपालिका–६ का प्रितम तामाङसँग पुनः विवाह बन्धनमा बाँधिइन् । प्रितमका परिवारले अस्वीकार गर्दागर्दै पनि फागुन १४ गते अदालती विवाह गरेका उनीहरूको सम्बन्धमा पनि शंका गर्छन् अदालतकै एक कर्मचारी । सो विवाहमा शर्मिलाका परिवार उपस्थित भए पनि तामाङको घरबाट कोही आएका थिएनन् । साधारण मानिसको सम्बन्धविच्छेदप्रति खासै रुचि र चासो नभए पनि जिल्ला अदालतका पूर्वन्यायाधीश सुन्दरबजार नगरपालिका–९ का श्रीकृष्ण भट्टराईले सोझी जेठी श्रीमतीविरुद्ध हालेको मुद्दालाई भने निकै चासोको रुपमा हेरिएको छ ।
मुलुकी ऐन, २०२० लोग्ने–स्वास्नीको महलमा मात्र नभई ०७५ भदौ १ देखि लागू भएको देवानी संहिताअनुसार स्वास्नीले लोग्नेको मञ्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा वा लोग्नेको ज्यान जाने, अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट दिएमा, जाल प्रपञ्च गरेमा वा स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा वा स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेको अवस्थामा लोग्नेले सम्बन्धविच्छेद गर्न पाउने कानुनी प्रावधानका खिलाफ कानुनको व्याख्यातासमेत रहेका भट्टराईले श्रीमती मिठुविरुद्ध मुद्दा हालेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय विशेष समितिमा उजुर हालेर चर्चामा आएका भट्टराईले असार ११ गते अर्घाखाँची जिल्ला अदालतबाट राजीनामा दिएको दुई हप्ता पनि नबित्दै जेठी श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेका हुन् । कास्की जिल्ला अदालतमा हुँदा उनले गरेका कैयौं मुद्दाको फैसला आज पनि उत्तिकै विवादमा छ । विवाह गरेर बच्चासमेत जन्माइसकेका कम उमेरका केटालाई जबर्जस्ती करणीको कसुरमा जेल पठाएर वैवाहिक सम्बन्ध टुटाइदिएका भट्टराईले सरकारी क्वार्टरभित्रै बलात्कार गरेको आरोप लागेका सशस्त्र प्रहरीका एक एसएसपीलाई भने सफाइ दिएका थिए । जुन मुद्दामा उनी अत्यधिक विवादित बने ।
पोखराकै एक ग्यास कम्पनी र स्थानीय महिलाबीचको लेनदेन मुद्दामा भट्टराईले विवादित फैसला गरेको आरोप लागेको थियो भने लागुऔषधसम्बन्धी मुद्दामा चर्को आर्थिक लेनदेन हुने गरेको हल्ला व्यापक थियो । उनै विवादित न्यायाधीशले मिठु सिलवालसँग विवाह गरेको १४ वर्षपछि ०५६ मा रामेछापकी शारदा सिलवालसँग दोस्रो विवाह गरे ।
त्यतिबेला माइतीले बहुविवाहको मुद्दा हाल्न भने पनि मिठु लोग्नेको खिलाफ जान सकिनन् । आफले मायाजालमा पारेर विवाह गरेका भट्टराईले सोझी र इमानदार श्रीमती र दुई छोरी हुँदाहुँदै कान्छी भिœयाउँदासमेत सहेर बसेकी उनै जेठीलाई नैतिकता, चोरी, आफूभन्दा धेरै जेठी, यावत् अनावश्यक लाञ्छना लगाएर हालेको सम्बन्धविच्छेद मुद्दाविरुद्ध श्रीमतीले अंश, मानाचामलसहित प्रतिउत्तर लगाएकी छन् भने दुई–दुई पटक मेलमिलाप केन्द्रमा छलफल र मिलाउने प्रयत्न गरिए पनि भट्टराई टसमस नभएपछि अब केही दिनमा पेशी तोकिने अदालत स्रोतले जानकारी दिएको छ ।
– अञ्जनकुमार
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू