उपेन्द्र र बाबुराम इलाममा थेगिमलाई सघाउँदै
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आसन्न इलाम–२ को उपनिर्वाचनमा पहिचानवादी समूहका तर्फबाट अघि सारिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने भएको छ ।
पार्टीले समतामूलक सम्मृद्धि, पहिचान र सामर्थ्यसहितको संघीयता, राष्ट्रिय स्वाधिनता र सम्मुन्नत समाजवादको आधार निर्माणका लागि थेगिमलाई मत दिन आग्रह गरेको छ । परम्परागत राजनैतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन पहिचानवादीलाई सघाउने निर्णय भएको नेसपाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इलाम–२ को उपनिर्वाचनमा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राप्रपा आ–आफ्ना उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रिँदै छन् । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरेको छ भने सत्तारुढ दल जसपा थेगिमको पक्षमा उभिएको हो ।
टिप्पणीहरू