इलाममा दलहरुका दावी,धर्मगुरु आत्मानन्दमाथि को होलान् हावी ?

इलाममा दलहरुका दावी,धर्मगुरु आत्मानन्दमाथि को होलान् हावी ?

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनको निम्ति इलाम निर्वाचन क्षेत्र नम्बर २ मा  २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेबाट पूर्व सभामुख सुवास नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

एमालेले नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई उठाएको छ भने माओवादी केन्द्र र विप्लव समूहले उनैलाई समर्थन जनाएका छन् । गत वर्ष झिनो मतान्तरले पराजित नेपाली काँग्रेसले डम्बरबहादुर खड्कालाई प्रतिस्पर्धामा उतारेको छ । 

सत्ता गठबन्धनमा रहेको रास्वपाले पूर्वमाओवादी पत्रकार मिलन लिम्बूलाई र पहिचानवादीहरुले डकेन्द्रसिंह लिम्बूलाई स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । एमाले र काँग्रेसले उम्मेदवारी दर्ता गराउने क्रममा बाजागाजा र तामझाम प्रदर्शन गरेका थिए । अन्य दलका उम्मेदवारले पनि गच्छेअनुसारको भीड जम्मा पारेको देखियो ।

एमालेका असन्तुष्ट जिल्ला नेता बुद्धि खनालहरु पनि सुहाङसँगै उम्मेदवारी दर्ताको निम्ति निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए । केही दिन अघिदेखि मोबाइल अफ गरेर बसेका कतिपय नेता प्रस्तावक बसेका छन् । 

मोबाइल बन्द गरेर सुहाङको उम्मेदवारीप्रति असन्तुष्टि जनाएकामध्ये एक जना भन्छन्, ‘माहौल ठीकै छ । सुहाङको अवस्था राम्रै छ । अरुभन्दा हामी निकै माथि छौं ।’ नेपाली काँग्रेसभित्र अन्तरघातको सम्भावना प्रवल रहेको एमाले जिल्ला तहका नेताको बुझाई छ ।

इलाममा धरानका मेयर हर्क साम्पाङको खासै प्रभाव नभए पनि त्यहाँ पहिचानवादीहरुको उपस्थिति राम्रै रहेको स्वतन्त्र विश्लेषकहरुको हिसाब छ ।

सांगठनिक हिसाबले बलियो नभए पनि विप्लवलेसमेत समर्थन जनाएको र माओवादीलाई पछिल्लो चुनावमा प्राप्त ५१ सय मतलाई एमालेजनले बलियो आधारको रुपमा प्रस्तुत गरेका छन् । माओवादी केन्द्रले गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गरेर सो क्षेत्रमा समानुपातिकतर्फ उक्त मत प्राप्त गरेको थियो । 

काँग्रेसमा अन्तरघात भैरहने गरेकाले यो वर्ष त्यसले निरन्तरता पाउने सम्भावना रहेको धेरैको बुझाई छ । त्यसैले पहिचानवादी र घण्टीका उम्मेदवारमध्ये जसले एमाले र काँग्रेसको भोट बढी काट्छ अर्कोको जीत हुने इलाममा अंक गणितीय हिसाब निकाल्न थालिएको छ ।

घण्टीको प्रचार प्रसारमा रहेका मिलनले निकै मत ल्याउने बताउँदै हिँडे पनि काँग्रेसले बढीमा १० हजारसम्मको आकलन गरेको छ । तर उम्मेदवारी दिने क्रममा उनीहरुको जुलुसमा मान्छेहरु खासै नदेखिएकाले एमालेजनले घण्टीको भागमा बढीमा सात हजार मत पर्ने अनुमान लगाएका छन् ।

इलाममा धरानका मेयर हर्क साम्पाङको खासै प्रभाव नभए पनि त्यहाँ  पहिचानवादीहरुको उपस्थिति राम्रै रहेको स्वतन्त्र विश्लेषकहरुको हिसाब छ । डकेन्द्र सिंह उनीहरु भित्रैको मान्छे भएकाले पहिचानवादीले आफ्ना सबै भोट खसाल्न प्रयत्न गर्ने धेरैको बुझाई छ । लिम्बूआनलगायतले पहिचानवादीलाई हाल्ने भोट र रास्वपाको उस्तै हुने अवस्था छ ।

सो क्षेत्रमा लिम्बूहरुका धर्मगुरु आत्मानन्द लिङ्देनको प्रभावमा करिब दुई हजारदेखि २५ सय मत रहेको विश्वास गरिन्छ । तर उनको सहानुभूति अहिलेसम्म कुनै पनि उम्मेदवारप्रति नदेखिएकाले उक्त भोट कता खस्छ यसै भन्न सकिन्न ।

टिप्पणीहरू