गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्नेमा काँग्रेस अडिग, सभामुख परामर्शमा
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरुसँग परामर्श गर्न लाग्नुभएको छ । उहाँले आज दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुसँग परामर्श गर्ने बताइएको छ ।
प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन नेताहरुसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठकमा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।
गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता रहेकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग काँग्रेसको छ । आफ्नो माग पूरा नभए भोलिदेखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिइएको छ ।
उता नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ । बिहान साढे ८ बजेदेखि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ ।
टिप्पणीहरू