माओवादीको जम्बो टोलीलाई उत्तरको निम्तो
सत्तारुढ नेकपा माओवादी केन्द्रका दर्जनौँ नेताले एकैसाथ चीन भ्रमणको निम्तो पाएका छन् । माओवादी नेताहरुको छुट्टाछुट्टै तीन वटा टोलीले आगामी वैशाखमा उत्तरको भ्रमण गर्न लागेको हो ।
जसअनुसार महासचिव देव गुरुङको नेतृत्वमा माओवादीका ३० जना नेता बैशाख ३ गते चीन प्रस्थान गर्नेछन् । टोली १५ दिन उतै रहने कार्यक्रम छ ।
त्यसैगरी पाँच दल संवद्ध प्रचार विभाग हेर्ने अर्को टोली भोलिपल्ट ४ गते चीन प्रस्थान गर्नेछ । सो टोलीमा नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडासहित माओवादी पत्रकार दाङका अजयदिप शर्मा, वीरगन्जस्थित नारायणी एफएमका गोविन्द देवकोटा र सिन्धुलीका विदुर खडकालगायत रहने छन् ।
माओवादी केन्द्रको प्रचार विभागका सदस्य तथा प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञवालीसहितको अर्को टोलीले पनि चीन घुम्ने निम्तो पाएको बताइएको छ । माओवादीले प्रेस सेन्टरका उपाध्यक्षहरुलाई मात्रै अवसर दिएकोमा बैठक चल्दाचल्दै आलोचना भएको बुझिएको छ ।
टिप्पणीहरू