कम्युनिष्टहरु मुलुकको सभ्यता र अस्तित्व मेटाउन उद्दत रहेको राजेन्द्र महतोको दाबी
पूर्वमन्त्री तथा ‘राष्ट्रिय मुक्ति आन्दोलन’ का संयोजक राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । उनले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबीसमेत गरेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै किटेर उनले सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार गरेको आरोप लगाए । ‘क्यापिटालिजम’ र ‘कम्युनिज्म’ दुनियाँमा असफल भइरहेको जिकिर गर्दै महतोले यिनीहरु पतन भएर जाने बताए ।
‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्’, उनले भने ।
भारतबाट नेपाल छिरेर बाबुलेभन्दा पहिले नागरिकता हात पारेको आरोप खेप्दै आएका महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्नेसमेत घोषणा गरेका छन् । भारतपरास्त नेताको छवि बनाएका उनी पटक–पटक सांसद र मन्त्री बनिसकेका छन् ।
हालै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर हालै आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका महतो त्यसयता आन्दोलनमा छन् । अस्ति उनकै नेतृत्वमा काठमाडौँमा भएको आन्दोलनमा झडप हुँदा केही भिक्षु कुटिएका थिए । त्यसको प्रतिक्रियास्वरूप महतोले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राखेका हुन् ।
टिप्पणीहरू