शिक्षक सरुवापछि विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२, सिम्थलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको जाहेज माग सम्बोधन गरी तत्काल पठनपाठन सुचारु गर्न माग गरेको छ । विद्यालयमा भएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनेरास्ववियुको भुम्लु गाउँपालिका कमिटी अध्यक्ष सज्जन जिसी र इञ्चार्ज सन्तोष बस्नेतले उक्त माग राखेका हुन् ।
शिक्षक सरुवाको विरोधमा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु अस्तिदेखि आन्दोलित छन् । विद्यालयमा तालाबन्दी गरिएपछि पठनपाठन रोकिएको छ । शारीरिक रुपमा फरक क्षमताका शिक्षक गजेन्द्र सञ्जेललाई गाउँपालिकाले गत चैत २२ गते सरुवाको पत्र थमाएको थियो ।
कक्षा १२ सम्म अध्यापन गर्दै आएका उनलाई बेख्सिम्लेस्थित वनदेवी माध्यमिक विद्यालय पुर्याइएको छ । वडाध्यक्ष सुजन भण्डारी, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा गाउँपालिकाले बिना कारण शिक्षक सञ्जेललाई अन्तै पठाएको उनीहरुको आरोप छ ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनेरास्ववियु भुम्लु जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको पारिवारिक अवस्थाको साथै अपांगताका आधारमा पनि पायक पर्ने विद्यालय अरुणोदय माध्यमिक भएको र विद्यालयमा भएको वा भैरहेको राजनीतिक क्रियालकलाप बन्द गर्न भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेकोले सत्यतथ्यको छानबिन र विद्यार्थीहरुको जाहेज माग तत्काल सम्बोधन गरी पठनपाठन सुचारु गर्न जोडदार माग गर्दछौं ।’
टिप्पणीहरू