बैगुनी गृहमन्त्रीमाथि छानबिन गर्न ज्ञानबहादुरको माग

सुन्नुहोस्

हिजो सडकबाट गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले आज संसदमा पनि आक्रोश पोखेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो पार्टीका सांसद तथा प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गृहमन्त्रीको चर्को आलोचना गरेका हुन् ।  

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न पाएका शाहीले गृहमन्त्री लामिछानेले आफूलाई संविधानभन्दा ठूलो ठानेको आरोप लगाए । आफ्नो पार्टीले हिजो गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीकै कारण दंगा फैलिएको उनको दाबी छ । 

‘यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ?’, शाहीले चर्को स्वरमा प्रश्न गरे, ‘नेपालको संविधानले स्पष्ट भनेको शान्तिपूर्ण रुपले कुनै पनि समूह वा दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्नुपर्छ भन्ने थाहा छ कि छैन ?’

त्यसक्रममा उनले गृहमन्त्रीको आदेशमा आफूलाई डीएसपी लगाएर पक्राउ गरिएको र कपडा च्यातिएको पनि बताए । गृहमन्त्री लामिछाने चितवन जेलमा पर्दै गर्दाको घटना स्मरण गर्दै शाहीले भने, ‘त्यो बेला उहाँलाई काँध हालेर हिँड्ने एक जना व्यक्ति म हो । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डीएसपीलाई पक्रिन लगाएर मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभो ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि जसरी पनि छानिबन गर्नुपर्ने मागसमेत राखे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’, शाहीले भनेका छन् । 

राजा र हिन्दु राष्ट्र फर्काउन भन्दै हिजो सडकमा निस्किएका राप्रपाका कार्यकर्ताले सिंहदरबारअगाडि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा दुई पक्षबीच झडप हुँदा ज्ञानबहादुरसहित राप्रपाका केही कार्यकर्ता केहीबेरका लागि समातिएका थिए । 

त्यसपछि गृहमन्त्रीप्रति आक्रोशित पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले सडकबाटै राजीनामा मागेका थिए । हिजो मिडियामा अन्तर्वार्ता दिँदै रविले पहिलेको गुन बिर्सिएर आफूलाई पक्रेको गुनासो गरेका ज्ञानबहादुरले आज संसदमा पनि त्यहि कुरा दोहोर्याएका हुन् ।

टिप्पणीहरू