काँग्रेसको माग पूर्वाग्रही छ, संसदीय छानविन समिति बन्दैन - प्रधानमन्त्री

काँग्रेसको माग पूर्वाग्रही छ, संसदीय छानविन समिति बन्दैन - प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा देखिएको गत्यावरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।  

विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले राजनीतिक दलहरुबीच आपसी समझदारीमा गतिरोधको समाधान निस्कने बताउनुभयो । त्यसका लागि राजनीतिक तहमा संवाद भैरहेको प्रधानमन्त्रीको भनाई छ । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन नहुने समेत प्रष्ट पार्नुभएको छ । व्यक्तिलाई केन्द्रित गरेर समिति बनाउने माग अमिल्दो रहेको उहाँले बताउनुभयो । 

सहकारीसँग सम्बन्धित समग्र विषय र गृहमन्त्री लामिछानेको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने प्रधानमन्त्रीको विश्वास छ ।

'अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।'

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको प्रचण्डको दावी छ । उहाँले भन्नुभयो, 'पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।'

यस प्रकरणलाई पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास भन्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यो सफल नहुने स्पष्ट पार्नुभयो ।
 

टिप्पणीहरू