प्रधानमन्त्रीको आश्वासन- बजेटमा पूर्वलाई प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उहाँले कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज विराटनगरमा सम्बोधन सो भनाई राख्नुभएको हो । यसअघि माओवादी केन्द्र कोशी प्रदेश समितिले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पत्र पठाएर कोशीका विभिन्न १५ वटा ठूला योजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरी बजेट छुट्याईदिन आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने पनि प्रष्ट पार्नुभएको छ । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै उहाँले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने बताउनुभयो ।
सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासम्म पुर्याउन पार्टीपंतिलाई निर्देशन दिनुभएको छ ।
विभाजित माओवादी घटकहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।'
माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षतालाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू