सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुई जनाको दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुई जनाको दाबी
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा (रेशम चौधरी पक्ष) संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित उनले केही बेरअघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

केन्द्रमा एमाले-माओवादी गठबन्धनमा रहेर दुई मन्त्री पाएको एकीकृत समाजवादी कांग्रेसतिर लागेपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ । केन्द्रको निर्देशनविपरित समाजवादीका नेताहरुले लक्ष्मण किशोरलाई समर्थन दिएको र अध्यक्ष माधव नेपालले फोन गरेर एमाले-माओवादी गठबन्धनमै रहन निर्देशन दिएको बुझिएको छ । 

यता, नाउपाकै कैलाश चौधरी पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । अध्यक्ष रञ्‍जिता पक्षका उनले केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् । 

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पहिलो एक वर्षका लागि सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेको थियो । कैलाश्लाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

टिप्पणीहरू