नयाँ दिल्लीमा काँग्रेसले अघि सार्यो जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष
भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू) विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमार उत्तर पूर्वी दिल्लीबाट चुनावी मैदानमा उत्रिएका छन् । बिहारको राजनीतिमा बढी सक्रिय उनी एकपटक केन्द्रीय राजधानी दिल्ली फर्केको अर्थ लगाइएको छ ।
वामपन्थी पृष्ठभूमिबाट राजनीतिमा उदाएका पूर्वविद्यार्थी नेता कन्हैया कुमारलाई काँग्रेसले उत्तर पूर्वी दिल्लीबाट टिकट दिएपछि युवापंक्ति उत्साहित बनेको बताइन्छ । ‘लोकसभा निर्वाचन’मा दोस्रो पटक चुनावी मैदानमा उत्रिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको निम्ति टाउको दुःखाई बनेको काँग्रेसीहरुको बुझाई छ । कन्हैया सो क्षेत्रबाट भाजपाका मनोज तिवारीसँग भिड्दैछन्।
कन्हैयालाई काँग्रेसले उत्तर पूर्वी दिल्लीबाट उम्मेदवार बनाउन सक्ने अनुमान केही समयअघि गरिएको थियो । हिजो ‘कंग्रेस हेडक्वार्टर’ द्वारा जारी उम्मेदवार सूचीमा उनको नाम समावेश गरेपछि अनुमान यथार्थमा परिणत भएको हो ।
भारतीय राजनीतिक रंगमञ्चमा कुन रणनीतिअन्तर्गत कन्हैया कुमारलाई दिल्लीबाट उम्मेदवार बनाइयो भन्ने प्रश्न उब्जिएको छ । उत्तर पूर्वी दिल्लीको लोकसभा निर्वाचन क्षेत्रमा यूपी, बिहार र हरियाणाको बेग्लै प्रभाव छ ।
कन्हैया कुमार उम्मेदवार बनेको क्षेत्रमा पूर्वाञ्चली मतदाताहरूको संख्या निर्णायक मानिन्छ । त्यसकारण उनलाई काँग्रेसले उम्मेदवार बनाएको आकलन छ । अर्कोतिर भाजपाले मनोजलाई सोही क्षेत्रबाट लगातार तेस्रोपटक उम्मेदवार बनाएको छ ।
सन् २०१४ र २०१९ को चुनावमा उनी ठूलो मतान्तरले विजयी भएका थिए । तर यसपटक उनलाई कन्हैया कुमारले टक्कर दिने विश्लेषकहरुले बताएका छन् ।
जेएनयुमा रहँदा उनका हरेक ‘नारा, हरेक भाषण’ सामाजिक सञ्जालमा भाइरल हुन्थे । युवामाझ उनको लोकप्रियता शिखरमा थियो । अहिले फेरि त्यही लोकप्रियतालाई पुँजीकरण गर्ने प्रयास काँग्रेसले गरेको छ ।
टिप्पणीहरू