अध्यादेशबाट कानुन संशोधन गर्न लागिएको अमेरिकालाई जानकारी

अध्यादेशबाट कानुन संशोधन गर्न लागिएको अमेरिकालाई जानकारी

अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीहरुलाई नेपालमा लगानी बढाउन अपिल गर्दै सरकारले लगानी प्रतिकूल ठानिएका एक दर्जन कानुन अध्यादेशमार्फत् संशोधन गर्न लागेको जानकारी गराउनुभएको छ । उहाँले वैशाख १६ र १७ गते हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे जानकारी गराउने क्रममा उक्त धारणा राख्नुभएको हो ।

नेपाली समयानुसार गएराति युएस चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो । भू–परिवेष्ठित भए पनि विश्वका दुई उदीयमान आर्थिक केन्द्रको रुपमा अघि सरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य रहेको उहाँको भनाइ छ ।

नेपालले ‘उदीयमान नेपाल’ नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागेको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपसहित अमेरिकी व्यवसायीहरू,अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी रहेको बुझिएको छ ।

टिप्पणीहरू