‘मनसरा’ को ट्रेलर : प्रेम र खुवा उस्तै !

‘मनसरा’ को ट्रेलर : प्रेम र खुवा उस्तै !
सुन्नुहोस्

बहुप्रतिक्षित नेपाली चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । 

चार मीनेट २६ सेकेन्ड लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ ।

चलचित्रमा लिम्बू महिलाको भूमिका निभाएकी अभिनेत्री मिरुनाको दमदार अभिनय देखिन्छ । उनको जोडीका रुपमा अभिनेता दयाहाङ प्रस्तुत भएका छन्  ।  

त्यस्तै, अभिनेता प्रवीण खतिवडाले व्राह्मण समुदायमा हुर्केको पुरुषको भूमिका निभाएका छन् भने अभिनेत्री मेनुका प्रधान उनको जोडी बनेकी छिन् । जो नेवारी महिलाको भूमिकामा देखिन्छन् । 

ट्रेलरमा व्राह्मण प्रवीण र लिम्बुनी मिरुनाको प्रेमलाई प्राथमिता दिइएको छ । कविता (पालम) का वाक्यहरुले दृश्यलाई अर्थपूर्ण बनाएका छन् । 

‘म जाबो... हेर्दा फुच्चो, बोलीमा सुन्दा छुच्छो न छुच्छो’ कवितांश (पालम) बाट सुरु गरिएको ट्रेलरले ‘यीनीहरु ...तारा झार्छु भन्छन्, सिस्नुको बोट पनि चर्छु भन्छन्’ भन्ने सम्वादसँगै पूर्णविराम पाएको छ । 

बीचमा प्रयोग भएको रोचक संवाद हो, ‘मिठो खुवा बनाउनलाई शुद्ध दुध हुनुपर्छ, प्रेमलाई एउटा सफा निस्कपट मन चाहिएजस्तो । खुवा र प्रेम उस्तै हुन् ।’ 

‘जारी’ फेम्ड उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र वैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ । विप्लव प्रतीक, शान्ति गिरी, हेमन्त बुढाथोकी, जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटालगायतको पनि अभिनय छ ।

चलचित्रको निर्माता र छायाँकार शैलेन्द्रध्वज कार्की हुन् ।

टिप्पणीहरू