मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक भएकाले प्रक्रिया बदरको माग

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक भएकाले प्रक्रिया बदरको माग

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी समूह) का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । 

गत आइतबार चौधरीले नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनीसँगै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले पनि दाबी पेश गरेका थिए । तर  प्रदेश प्रमुख नजिर मियाँले दुवैको दाबी नपुगेको भन्दै अस्वीकार गरेर नयाँ प्रक्रिया अघि बढाउनुभएको हो ।

गत बिहीबार रेशमmपक्षलाई दिएको समर्थन फिर्ता लिएर एकीकृत समाजवादीबाट सोडारी एमाले, माओवादी, नाउपा (रञ्जिता पक्ष)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । 

अहिले लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेश गर्दा पनि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त नगरेको आरोप लगाउँदै रिट दायर गरेका हुन् । मुख्यमन्त्रीमा सोडारीको नियुक्ति असंवैधानिक भएकाले नियुक्ती बदर हुनुपर्ने चौधरीको माग छ ।

यता नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सत्ता समीकरण बचाउनका लागि सुदुरपश्चिममा मुख्यमन्त्रीको दाबीबाट पछि हटेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज धनगढी पुगेकी श्रेष्ठले मन्त्रीको सपथ बहिष्कार गरेकी सांसद टिका थापाले पनि यथाशक्य छिटो विभागीय मन्त्रीको सपथ लिने दाबी गरेकी छन् ।

टिप्पणीहरू