रुसी सेनामा ज्यान गुमाउनेका आफन्तमाथि चर्को दमन, भृकुटीमण्डपबाट समातेर सिंहदरबार लगियो
रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै अनशन बसेका परिवारका सदस्य र आफन्तमाथि प्रहरीले दमन गरेको छ ।
केही दिनयता भृकुटीमण्डपमा सामूहिक आमरण अनशन बसिरहेका उनीहरुलाई प्रहरीले आज बलजफ्ती गरेको हो । शान्तिपूर्ण धर्नामा बसिरहेको अवस्थामा प्रहरीले अमानवीय व्यवहार गरेको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ की संयोजक कृतु भण्डारीले बताइन् ।
प्रहरीले लछारपछार गर्दै आफूसहित ६ जनालाई समातेर सिंहदरबार वृत्त ल्याएको उनले जानकारी दिइन् ।
‘हामी बिहान धर्नामा बसेका थियौं । प्रहरी टोली आयो । आजको कार्यक्रम के छ भनेपछि मैले रुसी राजदूतावासअगाडि धर्ना बस्छौं भने । त्यसपछि त हामीलाई लछारपछार गर्दै उठाउन थाले । मलाई स्लाइन पानी चढाइएको थियो । त्योपनि ती झर्यो । हामी आफैं गाडीमा चढ्छौं भन्दापनि प्रहरीले बलजफ्ती गरेको हो । एक जना सानी नानीलाई पनि यही ल्याएकोे छ । अहिलेसम्म हामीलाई यही राखेको छ । हाम्रो टेन्टहरु सबै फालिदियो’, उनले भनिन् ।
रुसी सेनामा भएका नेपालीको सकुशल उद्धार गरी स्वदेश फर्काउन माग गर्दै उनीहरु आमरण अनशन बसेको आज सातौं दिन भइसकेको छ । उनीहरु दिँउसो रुसी दूतावासअगाडि धर्ना दिने र राति भृकृटीमण्डपमा अनशन बस्ने गर्दै आएका छन् ।
टिप्पणीहरू