लोकप्रियता चुलिएपछि ‘इनड्राइभ’ कमाउ धन्दामा
राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । मुलुकमा ‘राइड सेयर’ सेवाको लोकप्रियतासँगै सञ्चालनमा आएको ‘इनड्राइभ’ ले सेवाग्राहीको मन जितेको छ । अन्य राइड सेयरिङ कम्पनीको तुलनामा सस्तो भएकाले यसमा सेवाग्राहीको आकर्षण बढेको बताइन्छ ।
राइड सेयरिङको विशेषता आफूले रोजेको रुटका लागि आफैं भाडा तोक्न पाइनु हो । ‘पठाओ’ ले बजार लिएपछि भित्रिएको ‘इनड्राइभ’ मा अहिले धेरै चालक संलग्न छन् । यात्रु बोकेबापत कमिशन नलिने भएकाले चालकहरुले यसलाई रुचाएको बताउँछन् । यद्यपि, केही समययता ‘इनड्राइभ’ विवादमा तानिँदै गएको छ । यसको ठगीधन्दा बढेकोमा सर्वसाधारणले व्यापक गुनासो गरेका छन् ।
यात्रुले आफूले रोजेको भाडादरमा यात्रा गर्न सकिने ‘इनड्राइभ’ ले हिजोआज मनलाग्दी शुल्क उठाउने गरेको पाइएको छ । अफलाइन मात्रै नभई अनलाइनमार्फत ‘इनड्राइभ’ बुकिङ्ग गर्दासमेत ठग्ने गरेको खुलेको छ । यात्रुहरुका अनुसार न्यूनतम भाडादर देखाएपनि सो शुल्क हालेर राइडर खोज्दा भेटिँदैनन् । ‘इनड्राइभ’ बुक गर्दा यस्तो समस्या व्यापक देखिएको यात्रुहरुको गुनासो छ । ‘मिनिमम’ चार्ज १२० भएपनि त्यसमा कुनै पनि राइडर नआउने यात्रुहरु बताउँछन् ।
‘इनड्राइभ’ मार्फत् यात्रा गरिरहने भूमिका विष्टले भनिन्,‘म प्रायःजसो इनड्राइभ नै प्रयोग गर्छु । तर, केही समययता इनड्राइभको ठगीधन्दा मौलाउँदै गएको मलाई महशुस भएको छ । केही दिन अगाडिको कुरा हो, मैले इनड्राइभ बुक गरँे । झम्सिखेलबाट कोटेश्वरसम्म मिनिमम चार्ज १२० रुपैयाँ देखाएको थियो । मैले ११० लेखेँ । कोही पनि राइडर देखाएन् । त्यसपछि १२० हालेँ, कोही देखाएन । १६० पछि मात्र राइडरहरु लैजान तयार भए । दुई–तीन पटक नै म त्यस्तोमा परिसकेँ ।’
यात्रु दिलिप खड्कासँग ‘इनड्राइभ’ मा यात्रा गर्दाको तीतो अनुभव छ । उनले ‘इनड्राइभ’ बुकिङ गर्दा अगाडिको एक देखिए पनि पछाडिको अंक नदेखिएको बताए । तरपनि बुक गरे । गन्तव्यमा पुगेपछि चालकले उनलाई १८० रुपैयाँ मागे । जबकी उनी सँधै सोही बाटोमा ११० रुपैयाँमा यात्रा गर्दै आएका थिए ।
‘म पठाओभन्दा धेरै इनड्राइभ नै चढ्छु । आफैंले भाडा तय गर्न मिल्ने भएकाले मलाई त्यो ठीक लाग्थ्यो । अस्ति इनड्राइभमार्फत राइड बुक गरे । अगाडिको एक देखाएपनि पछाडिको अंक देखाएन । मैले सँधैको चार्ज लिन्छन् होला भनेर बुक गरिहालेँ । गन्तव्यमा पुगेपछि १८० रुपैयाँ मागे । आखिर तिर्नैपर्यो । इनड्राइभको सिस्टम बिग्रिएको हो कि ठगीधन्दा शुरु भएको बुझ्नै गाह्रो भयो,’ उनले गुनासो पोखे ।
राइड बुक नगरी राइडरहरुले नै फोन गर्ने गरेको कतिपयको अनुभव छ । कमल पोखरेल राइड बुक गर्न लागेका थिए । गन्तव्यलगायत कुनै विवरण छनौट नगर्दै राइडरबाट फोन आएपछि उनी आश्चर्यचकित भएका हुन् । उनले सो राइडरलाई आफूले राइड बुक नै नगरेको बताए । उता, राइडरले जवाफ दिनै सकेनन् ।
उनले भने, ‘म राइड हेर्दै थिएँ, बुकिङ गरेकै थिइनँ । लोकेसन हालेपछि र शुल्क निर्धारण गरेपछि मात्र फोन आउनुपर्ने । तर, मलाई अगाडि नै आएपछि तीनछक्क परेँ । मैले बुकिङ नै नगरेको भनेपछि ती राइडर अक्कबक्क परे । जवाफ दिनै सकेनन् ।’
यता, सामाजिक सञ्जालमा पनि ‘इनड्राइभ’ को व्यापक विरोध भइरहेको छ । जथाभावी शुल्क लिन थालेको भन्दै सेवाग्राहीहरुले आलोचना गरिरहेको पाइन्छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो ठगीधन्दा भयो, धेरै टिक्दैन ।’ त्यस्तै, अर्कोले भनेका छन्, ‘यो अब बन्द गर्नुपर्छ, कम्प्लेन गर्ने ठाउँ पनि छैन । एकदमै ठग रैछ ।’
राइडरबाट पैसा असुल्दै ‘इनड्राइभ’
नेपालमा दर्ता भएसँगै ‘इनड्राइभ’ ले राइडरबाट समेत पैसा असुल्न थालेको छ । कम्पनीले कमिसन लिन थालेसँगै राइडरहरुले यात्रुबाट बढी शुल्क लिन शुरु गरेका हुन् । ‘इनड्राइभ’ ले १० प्रतिशत कमिशन लिने गरेको बताइन्छ । ‘आईएमई पे वालेट’ एप डाउनलोड गरेर पहिले पैसा नतिरे ‘रिक्वेस्ट एक्सेप्ट’ नहुने यात्रुहरुको गुनासो छ ।
एक जना यात्रुले भने, ‘अहिले आईएमई पे वालेट एप्स राख्नैपर्ने हुन्छ । १८ रुपैयाँ माग्यो, नतिरेसम्म राइड स्वीकार नै भएन । पैसा तिरेपछि बल्ल स्वीकार भयो । एकातिर यात्रुले कम पैसा हाल्छन्, अर्कोतिर पेट्रोलको भाउ बढ्दो छ ।’ नेपालमा कार्यालय नभएकाले दुर्घटना बीमा नरहेकोमा कतिपयले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा यस विषयमा बहस भइरहेको छ ।
लेखिएको छ, ‘अब पठाओ, इनड्राइभर सबै बराबर भएछ । तर पठाओको अफिस नेपालमै छ इनड्राइभको छैन । उता भारतमा पनि छैन । पैसा हामीले तिर्छौं तर इन्सुरेन्स कहाँबाट हुन्छ ? त्योभन्दा इनड्राइभ नचलाउँदै ठीक होला ।’ रातको समयमा ‘इनड्राइभ’ ले दोब्बर भाडा असुल्ने गरेको गुनासो पनि त्यत्तिकै छ ।
कम्पनी पैसा असुल्ने, सरकार हेरिरहने
मुलुकमा सञ्चालित सबै राइड सेयरिङ कम्पनी विदेशी हुन् । ‘पठाओ’ बंगलादेशी कम्पनी हो भने ‘इनड्राइभ’ अमेरिकी । नेपालको आफ्नै राइड सेयरिङ कम्पनी ‘टुटल’ बन्द भइसकेको छ । यी राइड सेयरिङ कम्पनीहरुले यात्रुबाट पैसा उठाउँछन् तर सरकारलाई भने राजश्व आम्दानी हुँदैन । रातो प्लेटमा दर्ता भएकाले सरकारले ती सवारीबाट अतिरिक्त राजश्व उठाउन सक्दैन । राइड सेयरिङ कम्पनीहरु बजारमा आएको लामो समय भइसकेको छ । विडम्बना, सरकार ती कम्पनीलाई नियमन गर्न र कानुन बनाउनबाट चुकेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले रातो प्लेटमा दर्ता भएका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ । तर, ऐनकानुन लत्याएर निजी प्लेटका सवारी साधनले यात्रु बोकिरहेको छ । ऐन नहुँदा ती सवारी साधनबाट सरकारले राजस्व उठाउन सकेको छैन् । सरकारले ऐनकानुन बनाएर राइड सेयरिङ सञ्चालनमा ल्याएमा राजस्व पनि आउने र सुरक्षा खतरा पनि नहुने यातायात अभियन्ताहरु बताउँछन् ।
‘दादागिरी’ देखाउँदै राइडर
वैशाखको पहिलो साता एक जना ‘इनड्राइभ’ चालकले यात्रुको औंला नै भाँचिदिए । अर्कै बाटोबाट लैजान खोज्दा यात्रुले नमानेपछि ती राइडरले औंला भाँचिदिएका हुन् । प्रहरीले यात्रुको औंला भाँच्ने २६ वर्षीय जोन तामाङ्गलाई बानियाँटारबाट समातेको थियो । त्यस्तै, चालकहरुले बाटोमा सवारी साधन रोकेर उभिरहेकाहरुलाई दुःख दिने गरेका छन् । कतिपय चालक हात समाउनै खोज्छन् ।
साउनयता २० हजार कारबाहीमा : ट्राफिक
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले साउनयता २० हजार बढी राइडर कारबाहीमा परेको बताए । अफलाइन चलाउने, सवारी रोकेर बाटो हिँडिरहेकालाई दुःख दिने, बढी शुल्क असुल्नेमाथि कारबाही गरिएको उनले जानकारी दिए ।
अनुगमन र उजुरीका आधारमा कारबाही गरिने बताउँदै उनले भने, ‘हामीले संस्थालाई इंगित गरेर कारबाही गर्दैनौं । अनुगमन र उजुरीको आधारमा कारबाही गर्ने हो । दर्ता नभएका, बढी शुल्क लिने, अफलाइन चलाउनेलाई कारबाही गरिन्छ । साउनयता २० हजार बढी कारबाहीमा परिसकेका छन् ।’
टिप्पणीहरू